धरानः धरान–८ स्थित अरुण टोलमा लागेको आगो नियन्त्रणमा आएको छ । नेपाल प्रहरी, स्थानीयवासी र धरान उपमहानगरपालिकाको दमकलको सहयोगले आगो नियन्त्रणमा आएको हो ।

अरुण टोलका इन्द्रबहादुर राईको गोठबाट आगो लाग्न शुरु गरेको थियो । स्थानीयवासी, प्रहरी र दमकलको सहयोगले ठूलो क्षति हुन नपाएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक अशोककुमार जबेगूले जानकारी दिए ।

आगो समयमा नियन्त्रण हुन नपाएको भए गोठसँगै रहेको सुकुम्बासी बस्ती खतरामा पर्ने थियो । गाई पाल्न बनाइएको गोठमा राखिएको परालबाट आगो सल्किएको अनुमान गरिए पनि यकिन हुन सकेको छैन । आगो पूर्ण नियन्त्रणमा आएको प्रहरी निरीक्षक जबेगूले जानकारी दिए । क्षतिको विवरण भने आइसकेको छैन ।

नेपाल प्रहरी र धरान उपमहानगरपालिकाले सुख्खायाममा आगलागीका धेरै घटना हुने गरेको भन्दै सचेतता अपनाउन आग्रह गरेका छन् ।