धरानः निर्माण कार्य शुरु भएको झण्डै ४ वर्षपछि धरान उपमहानगरपालिकामा जनसहभागिताको अर्को नमुना कार्य सम्पन्न भएको छ ।

१ नम्बर प्रदेशमा रहेका लागूऔषध प्रयोगकर्ताहरूलाई सुधार गर्ने र समाजमा पुनस्र्थापित गराउने उद्देश्यले २०७१ साल माघ ११ गते सो भवनको शिलान्यास भएको थियो । पूर्वाञ्चल आसरा सुधार केन्द्रको शुक्रबार नेपाल प्रहरीका प्रमुख आइजीपी सर्वेन्द्र खनालले उद्घाटन गरेका छन् । उनले नागरिक साझेदारीमा भएको यो नमूुना कार्य भएको बताए । अपराधरहित स्वच्छ समाज निर्माणमा धरान र प्रदेशवासीको भूमिका अनुकरणीय र प्रशंसनीय भएको उनले बताए ।

धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबारीमा निर्माण भएको आसरा सुधार केन्द्र जनसहभागितामा निर्माण भएको देशकै नमूना योजना हो । वार्षिक २ सय जना लागूऔषध प्रयोगकर्तालाई सुधार गरी समाजमा पुनस्र्थापित गर्ने योजना सहित नेपाल प्रहरी र नागरिकको साझेदारीमा योजना शुरु भएको थियो ।

२ करोड ३७ लाखको जनसहभागितामा निर्माण भएको आसरा सुधार केन्द्र गत वर्ष नै निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने योजना बनाइएको थियो ।

तर २०७२ सालमा गएको भूकम्प र भारतले नेपालमाथि लगाएको नाकाबन्दीका कारण निर्माण र सञ्चालनको कार्य एक बर्ष पछि सरेर निर्माण कार्य शुरु भएको ४ वर्षपछि उद्घाटन भएको हो । दुव्र्यसनीको सुधारको लागि जनसहभागिताको स्वेच्छिक सहयोगद्वारा भवन निर्माण सम्पन्न भएको निर्माण कमिटीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका पूर्व मेयर मनोजकुमार मेन्याङ्बोले जानकारी दिए ।

७ कठ्ठा १८ दशमलव ५ धुरमा बनेको ३ तले सुविधासम्पन्न आसरा भवन निर्माण सम्पन्न भएपछि नेपालकै नमूना सुधार केन्द्रको रूपमा चिनिएको छ ।

निर्माण समितिका संयोजक मनोजकुमार मेन्याङ्बोले भने, ‘धरान अन्य क्षेत्रको तुलनामा लागूऔषध प्रयोगकर्ताका कारण बद्नाम हुँदै गइरहेको छ । आसरा केन्द्र स्थापना भएपछि धरानलाई लागूऔषधरहित क्षेत्र बनाउन सहयोग मिल्नेछ ।’

उनका अनुसार सो भवनमा तत्कालका लागि १ सय जनालाई राखेर सुधारको निम्ति आवश्यक औषधी उपचारको व्यवस्था गर्न सकिनेछ । उक्त भवनमा अत्याधुनिक र सुविधासम्पन्न आवास कक्ष, बैठक कक्ष, कार्यालय, जीम हल, शौचालय, बाथरुम हुने छ । भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको छ ।

लागूऔषध प्रयोगकर्ताहरूलाई सुधार गर्नका लागि ४ महिनाको अवधिसम्म सुधार केन्द्रमा राखिने जनाइएको छ । त्यसका लागि मासिक १५ हजार रुपैयाँ परिवारले बुझाउनुपर्ने हुन्छ । त्यसबापत बस्ने, खाने, औषधी उपचार, लुगासहित केन्द्रले बेहोर्ने भएको छ । ४ महिनाको अवधिभर केन्द्रमा नै लागूऔषध प्रयोगकर्तालाई समाजमा पुनस्र्थापित हुन सजिलो बनाउनको निम्ति विभिन्न तालिमहरू सञ्चालन गरिने भएको आसरा सुधार केन्द्र भवन सञ्चालक समितिका सदस्य सचिव एवं प्रहरी निरीक्षक रामजी कट्वालले बताए ।

उनका अनुसार गरीब तथा विपन्न वर्गको लागि स्थानीय सरकारले सिफारिश गरेको आधारमा त्यस्ता दुव्र्यसनीको हकमा १० प्रतिशतसम्म छुट दिइने छ । केन्द्र सञ्चालनको लागि सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसएसपी शरदकुमार खत्रीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ । सुधार केन्द्रको सुरक्षार्थ प्रहरी निरीक्षकको कमाण्डमा २० जना प्रहरीहरू खटाइने भएको छ ।

दुव्र्यसनीको निम्ति स्वास्थ्य उपचारको लागि केन्द्रमा २४ सै घण्टा हेल्थ असिसटेन्ट, एचए र सिएमए २ जना रहने भएका छन् । सङ्घीय प्रहरी इकाइ कार्यालय धरानका प्रमुखको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति रहनेछ ।

समितिको सदस्यहरूमा जिल्ला प्रहरी प्रमुखका एसपी, १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी, इलाका प्रहरी कार्यालय धरानका प्रमुख रहनेछन् ।

त्यसैगरी, धरानवासीको तर्फबाट मानार्थ सदस्य मनोज मेन्याङ्बो, धरान –७ का सरोज श्रेष्ठ, धरान –१५ की शिला बज्राचार्य, सुनिता केसी र धरान–१२ का गोपाल श्रेष्ठ रहेका छन् । सदस्य सचिवमा प्रहरी निरीक्षक रामजी कट्वाल रहने जनाइएको छ ।

केन्द्र सञ्चालक समितिकी सदस्य तथा निर्माण समितिकी कोषाध्यक्ष शिला बज्राचार्यले अब १ नम्बर प्रदेशभरका लागूऔषध प्रयोगकर्ताहरूलाई जीवन र समाज बुझाउने र पुनस्र्थापित गराउने अभियान शुरु भएको बताइन् ।