विराटनगरः स्वच्छ खानेपानी व्यवस्थापनका विषयमा विराटनगर महानगर र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका प्रतिनिधिबच शुक्रबार विराटनगरमा छलफल भएको छ ।
विराटनगरको खानेपानी र यसका सम्भाव्यता र स्थानका विषयमा छलफल भएको हो । जाइकाले महानगर भित्र आवश्यक जग्गाको प्रबन्धसहित शहरको अवस्था अध्ययन गर्ने समय दिन अनुरोध गरेको छ ।
मेयर भीम पराजुलीले नगरवासीलाई शुद्ध खानेपानीको प्रबन्ध मिलाउन जाइकासँग समन्वय र सहयोग मागिएको बताए । उनले जाइकासँगको सहकार्यमा महानगरभित्र १ घर १ धाराको अवधारणाअनुरूप काम गर्न लागिएको जानकारी दिए ।
जाइकाको प्रतिनिधि मण्डलका प्रोग्राम एडभाइजर ताकासी साइकीले विराटनगरको खानेपानीको अवस्था अध्ययनसहित काम गर्न इच्छुक रहेको बताए । विराटनगरमा अहिले खानेपानीको अवस्था अत्यन्त दयनीय रहेको छ । ५६ वर्ष अगाडि ओछ्याइएका खानेपानीका पायपहरू प्रायः लिक भएका छन् । शुद्ध खानेपानी नहुँदा महानगरवासी प्रताडित बन्न पुगेका छन् ।