फाइल तस्बिर

खोटाङः रावाबेँसी गाउँपालिका–५, दुवेकोल र ऐंसेलुखर्क गाउँपालिका–७ माक्पामा भीषण आगलागी भएको छ ।

जङ्गलमा लागेको डढेलो गाउँमा पुग्दा दुवेकोलस्थित घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अविकेशर पाण्डे र भीम पाण्डेको घर जलेको रावाबेँसी गाउँपालिकाका प्रमुख लीलानाथ निरौलाले बताए ।

सोही डढेलोले सिमानामा पर्ने ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौला र पहलमान निरौलाको घरसमेत जलेको ऐसेलुखर्क गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए ।

नियन्त्रणबाहिर रहेको डढेलोले अन्य घरसमेत जोखिममा परेपछि ऐसेलुखर्कबाट सेना र प्रहरी झिकाएर निभाउने प्रयास भइरहेको जनाइएको छ । शुक्रबार दिउँसो रावाबेँसी गाउँपालिका–५ दुवेकोलस्थित गढीथुम्का तथा काँसेघडेरी सामुदायिक वनबाट शुरु भएको डढेलो घलेगाउँमा छिरेपछि भीषण रूप लिएको हो ।

हावाहुरी चलिरहेका कारण डढेलो नियन्त्रण गर्न नसक्दा पूरै गाउँ असुरक्षित बनेको स्थानीयले बताएका छन् । गाउँमा फुस र खरको छाना हुनुका साथै हावाहुरी चलेका कारण घर जोगाउन मुस्किल भएको बताइएको छ ।