ताप्लेजुङः ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–२ सान्थाँक्रामा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

सान्थाँक्राको मैखुबाट गोलिया लिएर दोभान तर्फ आइरहेको मे १ त ४९८९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सो ट्याक्टरका सहचालक फुङलिङ नगरपालिका २ का वर्ष १७ का सुरेन्द्र तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । उनको घटनास्थलमा नै ज्यान गएको बताइएको छ ।

घाइते हुनेमा सान्थाँक्राका वर्ष १६ का टासी शेर्पा रहेका छन् । गम्भीर घाइते बनेका शेर्पाको उपाचारका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइएको बताइएको छ । उनी पनि ट्याक्टरमा सवार थिए ।

दिउँसो अन्दाजी ३ बजे सान्थाँक्राको ह्याम्फे भन्ने ठाउँमा सडकबाट झण्डै २ सय मिटर तल ट्याक्टर झरेको थियो । दुर्घटनाको कारण खुलेको छैन । चालक फरार रहेको बताइएको छ ।