झापाः जिल्ला अनुगमन समिति झापाले स्थानीय तहकै मिलेमतोमा ठेकेदारबाट खोला दोहन भइरहेको जनाएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा झापामा गठन भएको अधिकार सम्पन्न अनुगमन समितिले बिहीबार पत्रकार सम्मेलन गरी खोलामा अनियन्त्रित रूपमा उत्खनन गर्ने कार्यलाई रोक्न कडा कदम चाल्ने चेतावनी दिएको हो ।

सो अवसरमा समितिका संयोजक पोर्तेलले गत पुस २४ गतेदेखि फागुन २७ गतेसम्म जिल्लाका विभिन्न नदी र क्रसर उद्योगमा स्थलगत अनुगमन गरी तयार पारिएको प्रतिवेदन पनि सार्वजनिक गरे ।

झापाका अधिकांश नदीनालामा ढुङ्गा, बालुवा र गिटीको उत्खनन, सङ्कलन र बिक्री कार्यमा कानुनले तोकेको मापदण्डको ठाडो उल्लङ्घन भइरहेको प्रतिवेदनमा उल्लेख छ । कानुनी प्रावधानको उल्लङ्घन गर्नेमा नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधि र ठेकेदार संलग्न रहेको संयोजक पोर्तेलले जनाए ।

‘कमल, कचनकवल, झापा, गौरादह र बिर्तामोडले अहिलेसम्म प्रारम्भिक वातावरणीय परीक्षण (आईई) नै गरेका छैनन्’, संयोजक पोर्तेलले भने, ‘झापाका अरु गाउँपालिका र नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण स्वीकृत गराए पनि तोकिएको मापदण्डलाई ठाडै मिचेर ढुङ्गा, गिटी र बालुवाको उत्खनन गरिरहेको पाइएको छ ।’

उनका अनुसार आईई स्वीकृत नगरी खोलाबाट कुनै पनि उत्खनन गर्न पाइँदैन । प्रारम्भिक वातावरणीय परीक्षण (आईई) स्वीकृत गर्ने अधिकार जिल्ला समन्वय समितिले पाएको छ ।

सो अनुगमन समितिले मेची, निन्दा, हडिया, बिरिङ, कनकाइ, रतुवा र मावा नदीको अनुगमन गरेको थियो । मेचीनगरको राजधानी क्रसर इण्डस्ट्रिज, बिर्तामोडको कञ्चनजङ्घा क्रसर उद्योग, अर्जुनधाराको भगवती रोडा उद्योग, जय घटाल रोडा उद्योग र मङ्गलश्री क्रसर उद्योगको स्थलगत अनुगमन गरेको थियो ।

अधिकांश नदी र क्रसरमा मापदण्ड मिचेर खोलाजन्य वस्तुको दोहन भइरहेको अनुगमन प्रतिवेदनमा औँल्याइएको छ । अनुगमन समितिको सदस्यमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक र जिल्ला वन डिभिजनका प्रमुख रहेका छन् । जिल्ला समन्वय अधिकारी समितिको सदस्य सचिव रहने प्रावधान छ ।

क्रसर उद्योगहरू स्कुल, हस्पिटल र बस्तीबाट दुई किलोमिटर टाढा हुनुपर्ने र खोलाजन्य सामग्रीको उत्खनन पुलबाट ५ सय मिटर टाढा हुनुपर्ने नियमसमेत मिचिएका कारण खोलाको दोहनप्रति अनुगमन समिति गम्भीर बनेको समितिका संयोजक पोर्तेलले बताए ।

अनुगमन समितिका सदस्य एवं प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पहिलो चरणमा यथार्थ अवस्था अवगत गराउँदै प्रतिवेदन सार्वजनिक गरिएको र सम्बन्धित नगर तथा गाउँपालिकालाई मापदण्ड नमिच्न सम्झाइबुझाइ गरिएको उनले बताए ।

३ स्थानीय तहमा बढी मात्रमा उत्खनन
झापाका मेचीनगर, अर्जुनधारा र दमकमा खोलाको दोहन अन्यत्रभन्दा ज्यादा रहेको अनुगमन समितिले जनाएको छ ।

नेपाल सरकारले खोला तथा खानीको उत्खनन, सङ्कलन र बिक्री अधिकार प्रदेश सरकारलाई दिएको थियो । प्रदेश सरकारले सो अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरेपछि गाउँ र नगरपालिकाले आफ्नो क्षेत्रका खोलामा ठेक्का लगाएर उत्खनन गरिरहेका छन् ।