इटहरीः इटहरीमा रहेर नेपाली कविता क्षेत्रमा चिनिएका कवि बद्री भिखारीका कविता टिकटमा सुनिने भएको छ । आज दिउँसो साढे ३ बजे इटहरीको गोरखा डिपार्टमेन्ट स्टोर्सको छैटौँ तल्लामा रहेको सेमिनार हलमा कवि भिखारीका कविता टिकट काटेर सुनिन लागेको हो ।

नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्य समिति सुनसरीको आयोजनामा हुने कविता वाचनका लागि १ सय रुपैयाँ दरका टिकट धमाधम बिक्री भइरहेको निजामती कर्मचारी सङ्गठनको भनाइ छ । सङ्गठनका केन्द्रीय सदस्य तथा कार्यक्रमका परिकल्पनाकार प्रकाश राईले अधिकांश टिकट बिक्री भइसकेको बताए ।

‘साहित्य क्षेत्रका व्यक्ति र पत्रकारहरूलाई भने हामी टिकट बिक्री नगरेर पास दिनेछौँ’, राईले भने, ‘कर्मचारी साथीहरू र अन्य पाठकहरूबाट टिकट बिक्रीको काम भइरहेको छ ।’

२०४३ सालदेखि निरन्तर काव्य साधनामा सक्रिय कवि भिखारीका ‘माड सा’बको झोला’ र ‘समुद्र–साउती’ नामक दुई कविता सङ्ग्रह प्रकाशित छन् ।