बेलबारी / निजी तथा आवासीय विद्यालयहरूको सङ्गठन प्याब्सन बेलबारीले आयोजना गरेको अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगितामा शिक्षा सन्देश इङ्लिस स्कुल बेलबारी पहिलो भएको छ ।
प्रतियोगितामा १४ वटा टिमलाई पछि पार्दै शिक्षा सन्देश पहिलो भएको हो । प्रतियोगितामा सिंहदेवी इङ्लिस स्कुल दोस्रो, इस्टर्न एकेडेमी तेस्रो र भानु मेमोरियल शैक्षिक गुठीले सान्त्वना स्थान हात पारे । प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सुवेदीले गुणस्तरीय शिक्षा प्रदान गर्नमा संस्थागत विद्यालयको महत्वपूर्ण भूमिका रहने बताउँदै नगरपालिका संस्थागत विद्यालयसँग सहकार्य गर्न तयार रहेको बताए ।
बेलबारी– ११ का वडाध्यक्ष यामबहादुर पोखरेल (राजन) ले राज्यले संस्थागत विद्यालयलाई सुविधा दिने कुरामा कन्जुस्याइँ गर्न नहुने बताए ।
जिल्ला प्याब्सनका उपाध्यक्ष एवम् सिद्धार्थ इङ्लिस स्कुलमा संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतले संस्थागत विद्यालयमाथि राज्यले अनावश्यक कर लगाएकोमा गुनासो गरे । उनले राज्यले विद्यालयका गाडीहरूलाई एम्बुलेन्स सरह निर्वाध रूपमा चल्न दिनुपर्ने माग पनि राखे ।