झापाः लोक चित्रकलामा सामाजिक जनजीवन, परम्परागत संस्कृति र मौलिक पहिचान झल्किने हुँदा यसको लोकप्रियता बढ्दो छ ।

झापाको काँकडभिट्टामा शनिबारदेखि जारी ३ दिवसीय ‘कला साहित्य उत्सव’मा प्रदर्शनीमा राखिएका लोक चित्रकलाले दर्शकको माया मात्र पाएका छैनन्, कलाकारको प्रतिभालाई समेत चिनाउन मद्दत पु¥याएको छ ।

प्रदर्शनीमा राखेको एउटा लोकचित्रको मूल्य २ हजार रुपैयाँ निर्धारण गरिएको थियो तर प्रदर्शनीमा अवलोकन गर्न आएका एक व्यक्तिले सो चित्रलाई रु ५ हजार तिरेर खरीद गरेको झापाका उदीयमान चित्रकार विनोद राजवंशीले बताए ।

‘यति राम्रो चित्रको २ हजार दाम अलि कम भयो जस्तो लाग्छ । कतिसम्म दाम राख्न सकिन्थ्यो भनेर उहाँले मलाई सोध्नुभयो’, देही आर्टमा आबद्ध कलाकार राजवंशीले चित्र बिक्री प्रसङ्गबारे भने, ‘मैले रु पाँच हजार त परिहाल्छ नि सर मात्र के भनेको थिएँ, उहाँले ५ हजार रुपैयाँ दिएर चित्र किन्नुभयो ।’

रिडर्स झापाले हरेक २ वर्षमा काँकडभिट्टामा कला साहित्य उत्सवको आयोजना गर्दैै आएको छ । उत्सवमा काँकडभिट्टाकै देही आर्टले कला क्षेत्रको संयोजनकारी भूमिका निर्वाह गरेको छ ।

यसपटक उत्सवमा ‘पूर्वी नेपालको सुन्दरता’ शीर्षकमा लोक चित्रकलाको प्रदर्शनी र प्रतियोगिता गरिएको छ । सांस्कृतिक विविधता भएको पूर्वी नेपालको विभिन्न जाति र समुदायको संस्कृति र परम्परालाई चित्रकलामा समेटिएको हुँदा प्रदर्शनीले दर्शक तानेको देही आर्टका संस्थापक छितेन शेर्पा बताउँछन् ।

कोठाको चेपारामा बसेर कुची खेलाउने कलाकारलाई यो उत्सवले मुलुकभरिका प्रबुद्ध साहित्यकार तथा पत्रकारको दृष्टिमा अगाडि ल्याइदिन सघाउ पु¥याएको उनको भनाइ छ ।

प्रतियोगितात्मक कला प्रदर्शनीमा कास्की, काठमाडौं, सुनसरी, धनकुटा, मोरङ र झापाका कलाकारका २५ वटा लोकचित्र राखिएको छ । दर्शकले ती चित्रमा मत दिनका लागि मतपेटिका समेत प्रदर्शनीस्थलमा राखिएको छ । बढी मत प्राप्त गर्ने चित्रलाई उत्सवको आज हुने समापनमा पुरस्कार र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

अमादब्लम हिमाल, कन्याम, पाथीभरा माता, किराती युवती, परम्परागत भाँडावर्तन, चण्डी नाच, राजवंशी जातिले प्रयोग गर्ने मखुण्डो आदिका चित्र प्रतियोगितामा सामेल छन् ।

उत्सवमा आइतबार ‘लोक चित्रकला’ विषयमा प्रख्यात कलाकर्मीबीच बहससमेत गराइएको छ । बहसमा सहभागी वक्ताले लोककला कुनै जाति र समुदायको मात्र नभएर राष्ट्रकै सम्पत्ति भएको धारणा राखे । विराटनगरका मिथिला लोक चित्रकार एससी सुमनले विश्वभर मिथिला लोक चित्रकलाले नेपाललाई चिनाएको बताए ।

लोक चित्रकलालाई हजुरआमा पुस्ताले जोगाएर राखेको र हाल त्यसलाई क्यानभासमा उतारेर नयाँ पुस्ताले संसारभर चिनाएको उनको भनाइ थियो । थारू लोक चित्रकलामा अभिरुचि राख्ने सरोजा खड्गीले नेपाली परम्परा र संस्कृतिमा आधारित चित्रकलामा नेपाल धनी भएको उल्लेख गर्दै थारूहरूको ‘खड्की अचहरा’ विश्वमै दुर्लभ वेषभूषा भएको बताइन् ।

मोफसलमा बसेर दुई दशकदेखि निरन्तर कलाकर्ममा लागिरहेका ललित कला प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य पवन राजवंशीले चित्र किनिदिने बानी नभएसम्म लोक चित्रकला फष्टाउन नसक्ने बताए । परम्परा र संस्कृति लोप हुँदै जाँदा लोककलासमेत हराउँदै गएको उनको भनाइ थियो ।