सुनसरी : इटहरीकी एक महिलालाई क्यानाडा पठाउने भनेर ठगी मुद्दामा फरार महिला प्रतिवादीलाई इन्टरपोल मार्फत युएईबाट पक्राउ गरी ल्याइएको छ । इन्टरपोलबाट रेड नोटिस जारी भएकी फरार प्रतिवादी रुपन्देही बुटवल उपमहानगरपालिका १ घर भएकी सरिता घर्ती मगरलाई युएईबाट पक्राउ गरी सोमबार इटहरी ल्याइएको हो ।

उदयपुर बेलाका घर भई इटहरी बस्दै आएकी तारा कुमारी राईको जाहेरीमा सुनसरी जिल्ला अदालतबाट ठगी मुद्दामा मगर फरार थिइन । उनी डेढ वर्षदेखि युएईमा लुकिछिपी बस्दै आएको प्रहरीले जनाएको छ ।  मगरले क्यानाडाको होटेलमा काम लगाइदिन्छु भनेर ९ लाख १७ हजार रुपैयाँ ठगी गरेकी थिइन । फेसबुक पेजमा क्यानाडाको डिमान्ड राखेर मगरले राईलाई रकम असुलेर फरार भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले जानकारी दिए । 

अदालतले समेत उनलाई फरार प्रतिवादी घोषित गरी खोजतलास गर्न प्रहरीलाई आदेश दिएको थियो ।  युएईमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने गराउने प्रयोजनार्थ आइतबार नेपाल फिर्ता ल्याइएको हो । 

उक्त मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० माघ १ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो । मगरलाई मङ्गलवार सुनसरी जिल्ला अदालतमा पेस गरिने प्रहरीले जनाएको छ । 
541681774_1093009122961610_5126354781954804648_n