सुनसरी : मङ्गलवार अपराहन्न २ः३० बजे इटहरी २ आपगाछी स्थित मोहन दंगालको घरमा तास खेलिरहेको सूचनाको आधारमा प्रहरीले छापा मार्‍यो । घरको पहिलो तलाको कोठामा ढोका थुनेर तास (जुवा)  खेलिरहेको ठाउँसम्म प्रहरी पुग्दा जुवाडेहरूले प्रहरी आएको चाल पाइसकेका थिए । 

केही जुवाडे भाग्ने कोसिस गदै थिए, तर दंगालको घर चारै तिरबाट प्रहरीले घेरिसकेको थियो । भाग्ने कोसिस असफल भएपछि खेल्दै गरेको तास र नगद कोठा भित्रै जुवाडेहरूले लुकाउन खोजे । खेल भएकै ठाउँमा प्रहरी पुग्दा कोठा सामान्य अवस्थाको जस्तो बनाइएको थियो । तर कोठा खानतलासी गर्दा ३ बुङ तास सहित ३ लाख ११ हजार रुपैयाँ नगद फेला पर्‍यो । प्रहरीले घेरा हाल्दै गर्दा भित्र रहेका जुवाडेहरूले भने केही नगद घरमा भएका अन्य सदस्यको मद्दतमा लुकाएको स्रोतको दाबी छ । 

स्रोतका अनुसार मङ्गलवारको बिहान ११ बजे देखिनै त्यहाँ तास खेल्ने कार्य भएको थियो । त्यहाँ ३ लाख भन्दा बढी नगद हार–जित भएको अनुमान गरिएको छ । स्रोतको दाबी अनुसार मङ्गलवार त्यहाँ ५ लाख आसपासको खेल भएको भनिएको छ ।  

इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी तरहरा सहितको साधा पोसाकको प्रहरीले दंगालको घरबाट ९ जनालाई पक्राउ गरेको थियो । पक्राउको क्रममा केहीले कोठाबाट बरामद भएको पैसा लागेर सबैलाई छाड्न समेत छापा मार्न गएको प्रहरीलाई प्रस्ताव गरेका थिए । त्यो सँगै बरामदी खानतलासी मुचुल्का उठाउने क्रममा केही नेता तथा जनप्रतिनिधिले ‘स्पट’ बाटै सबैलाई छाड्न प्रहरीको माथिल्लो निकायमा दबाब समेत दिएका थिए । तर दंगालको घरमा प्रहरीले छापा हानेको हल्ला दंगाल टोलमा फैलिसकेको थियो र स्थानीयको भिड समेत बाक्लो थियो । 

इटहरी प्रहरीले दंगालको घरबाट इटहरी २० का रमेश श्रेष्ठ, रुकविर राई, नवराज खनाल, विनोद चौधरी (२), जोगेन्द्र लिम्बु, कृष्ण राई, ओभन कार्की, राजेन्द्र ढकाललाई पक्राउ गरेको हो । तर इटहरी प्रहरीले भने पक्राउ परेका ९ जना मध्ये ३ जनालाई मङ्गलवार साँझ छाडेको छ । तास खेल्ने नभई दर्शक भई हेर्न बसेको भनेर इटहरीका डिएसपी लक्ष्मी भण्डारीको निर्देशनमा रमेश श्रेष्ठ, रुकविर राई र नवराज खनाललाई केही घण्टामै छाडिएको हो । 

स्रोतका अनुसार छाडिएका तीनै जना समेत तास खेल्ने कार्यमा संलग्न भएको दाबी छ । 

मुलुकी अपराध संहिता २०७४ मा अवैध बाजी वा जुवा खेललाई समर्थन, प्रोत्साहन र स्थान उपलब्ध गराउनेलाई जुवा सम्बन्धी अपराधमा ‘संलग्न’ मानिन्छ । अपराध संहितामा हेर्ने व्यक्तिलाई पनि यदि उसले बाजी वा जुवा खेल्न सहयोग गरेको जस्तै हेरेर मनोरञ्जन मात्र नभई सहभुक्ता वा प्रोत्साहन गर्ने कुरामा प्रमाणित भए, कानुनले उसलाई संलग्न मान्न सक्छ । उक्त व्यक्ति जुवा खेल्ने वा गराउने बराबर मानिन्छ । तर अपराध संहिताको खिलाफ इटहरी उप–महानगरपालिका २० नं. वडाका अध्यक्ष मणि श्रेष्ठको ‘रोहबर’ मा तीन जनालाई राती छाडिएको छ । छाडिएका मध्ये रमेश श्रेष्ठ वडाध्यक्षका आफ्नै दाइ नाता हुन । 

पक्राउ परेका मध्ये केहीले तीन जनालाई छाडेको विषयमा ‘असन्तुष्टि’ व्यक्त गरेको स्रोतको दाबी छ । एउटै प्रकरणमा जुवा सम्बन्धी अपराधको व्याख्यालाई ‘बङ्गाएर’ छाडेको प्रति केहीले प्रहरी सामु असन्तुष्टि व्यक्त गरेका थिए । सँगै पक्राउ परेका छाडिएपछि असन्तुष्टि जुवाडेहरूलाई इटहरी २० का वडाध्यक्ष श्रेष्ठले केही दिन भित्रै ‘धरौटीमा निकाल्ने’ आश्वासन दिएको स्रोतको भनाई छ । त्यस्तै सबैलाई इलाका प्रहरी कार्यालयको हिरासतमा नभई प्रहरी चौकी तरहरामा राख्ने प्रबन्ध समेत श्रेष्ठले डिएसपीसँग मिलाएका थिए । केही वडावासी भएकै आधारमा पक्राउ परेकाहरूलाई साँघुरो र अव्यवस्थित इटहरीको हिरासतमा राख्दा ‘असहज’ हुने भन्दै तरहराको सुविधा सम्पन्न हिरासतमा राख्ने प्रबन्ध वडाध्यक्षले गरेको स्रोतको भनाई छ । ६ जनालाई राती ११ बजे मेडिकल गरी तरहरा चौकी लगिएको थियो । 

यता इटहरी २० का वडाध्यक्ष मणि श्रेष्ठले पक्राउ परेका मध्ये तीन जना तास खेलेको ठाउँमा केही समय अघि मात्र त्यहाँ पुगेको दाबी गदै अन्य ६ जनाले पनि उनीहरूले तास नखेलेको बयान दिएपछि आफूले प्रहरी कार्यालय गएर बुझेर ल्याएको बताए । ‘नाता/साथीभाइहरू भनेर हैन, तास नै नखेलेको आधार देखिएपछि प्रहरीले छाडेको हो’ श्रेष्ठले भने ‘बाँकी प्रहरीले निष्पक्ष अनुसन्धान अघि बढाउँदा हुन्छ ।’ 

नाम सार्वजनिक नगर्ने खेल

तास र नगदसहित पक्राउ परेका ९ जनाको नाम खुलाउन इटहरीका डिएसपी र जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपीले इन्कार गरेका थिए । संञ्चारकर्मीले पक्राउ परेकाहरूको विवरण माग्दा म्याद थप गरेपछि मात्र दिने भनेर जवाफ दिएका थिए । 

‘गोपनीयताको कुरा पनि हुन्छ, हामी पहिले म्याद थप गछौ ! अनि नाम सार्वजनिक गछौ’ इटहरीका डिएसपी लक्ष्मी भण्डारीले प्रदेश पोर्टलसँगको कुराकानीमा यस्तो जवाफ फर्काएका थिए । यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन तिम्सिनाले समेत उस्तै प्रतिक्रिया दिए ।  प्राय, जुवाजन्य केशमा ‘आर्थिक सेटिङ’ हुने वा ‘मान्छे छाड्न’ दबाब आउने परिस्थितिले पक्राउ परेकाहरूको नाम सार्वजनिक नगर्ने नियतमा प्रहरी अधिकृत हुन्छन् । 

यसअघि यो समाचारमा राजन ढकालको नाम पर्न गएकोमा वहाँ र वहाँको परिवारमा पर्न गएको असर प्रति हामी क्षमा चाहन्छौ- सम्पादक )