इटहरीः प्रकाशनको छोटो समयमै नेपालको राजनीतिक नेतृत्व तह, राज्य सञ्चालन गर्ने प्रशासनिक क्षेत्र र आम नागरिकमा नयाँ बहसको विषय बनाएको प्रकाश विकल्पद्वारा लिखित ‘देश किन बनेन’ पुस्तकको पूर्वमा पहिलो पटक शनिबार इटहरीमा अन्तरक्रिया भएको छ ।

मानव अधिकार संजाल सुनसरीकाे अायाेजनामा  बौद्धिक वर्ग, पाठक, सञ्चारकर्मी, जिल्ला तहका राजनीतिक नेतृत्वकर्ता, महिला अगुवा र युवाहरू बीचमा २ घण्टा बढी सो पुस्तकमाथि अन्तरक्रिया भएको हो । लेखक समेतको सहभागितामा भएको अन्तरक्रियाका सहभागीले देश किन बनेन पुस्तकले ब्युँझिनसकेका नेपालका आमनागरिकलाई केही मात्रामा भए पनि ब्युँझाउने काम गरेको बताए ।

des kina banena  (2)

अन्तरक्रियामा पुस्तकमाथि आफ्नो धारणा राख्दै समाजशास्त्रका प्राध्यापक अर्जुनकुमार उप्र्रेतीले देश किन बनेन पुस्तकले नेपालको वर्तमान अवस्थाका बारेमा सबै उमेर समूहले बुझ्ने भाषा यथार्थ व्याख्या गरेको बताए । उनले भने, ‘पुस्तकमा समेटिएका तथ्य, सत्य र तथ्याङ्कसहितका सामग्रीले यसको विश्वसनीयता र महत्वलाई स्पष्ट पार्दछ ।’

देशमा सुशासन कायम गरी समृद्ध बनाउने गफ चुट्ने हालको नेतृत्व, राज्य सञ्चालनका लागि आफूलाई नेतृत्व तहमा लैजाने योजना बनाएको नयाँ पुस्ता र आम नागरिकले पुस्तक पढ्न छुटाए ठूलो भूल हुनेछ ।’
des kina banena  (3)
उप्रेतीले देश किन बनेन पुस्तकले नेपाली लेखन क्षेत्रमा नयाँ पद्धति, आयाम र शैलीको शुरुवात गरेको बताए । लेखक विकल्पले लेखनमा हाल नेपालमा चलिरहेको तरिकाभन्दा फरक तरिकाले लेखेको पनि उनले बताए ।

युवा राजनीतिक विश्लेषक मोहन तिम्सिनाले देश नबन्नुको मुख्य कारण के रहेछ भन्ने कुरा पुस्तकले घामझैँ छर्लंङ्ग पारेको बताए । पुस्तकमा देश बनाउँछु भनेर २००७ सालपछि राजनीतिक क्षेत्रमा लागेकाहरू मात्र नभई देश सञ्चालनमा बागडोर समालिरहेका कर्मचारीले आफ्नो जीवनशैली, आर्थिक अवस्था उचाइमा पुगेको तर देश त्यो अनुपातमा अगाडि बढ्न नै नसकेको चित्र गरिएको तिम्सिनाले बताए ।
पुस्तकलाई गहिरिएर अध्ययन गर्ने हो भने देश बनाउने अभियानमा लागेका नेतृत्व वर्गमात्र नभई आम नागरिकले आत्मालोचना गरेर नयाँ ढङ्गबाट अगाडि बढ्नका लागि प्र्रेरित गर्नेमा कुनै शङ्का नै नरहेको आफुले पाएको तिम्सिनाले बताए ।
डाक्टर दिवाकर रेग्मीले लेखक विकल्पले सुशासन कायम गरी देशलाई समृद्धितर्फ लैजाने काम राजनीतिक नेतृत्वले नै गर्ने भएकाले उनीहरूलाई शुद्धीकरण हुनका लागि दबाब सिर्जन ागर्न देशभरबाट आम नागरिक अब जाग्नुपर्ने नभए देश बर्वादीतर्फ जाने तथ्य सहितका सामग्रीहरु पुस्तकमा पस्किएको बताए । उनले लेखक विकल्प युवा भएकाले देशका परिर्वतनकारी युवाको प्रतिनिधित्व गर्दै अखबारी शैलीमा आफ्नो आक्रोश पोखेको बताए । सो आक्रोश बनावटी नभएर यथार्थमा आधारित रहेको आफूले पुस्तक पढ्दा पाएको उनले दाबी गरे ।

अन्तरक्रियामा सहभागी प्राध्यापक डाक्टर बद्रीविशाल पोख्रेलले लेखक विकल्पले नेपाललाई डलरमा बिक्नेहरूले कसरी च्यात्न खोजिरहेका छन् भन्ने कुरा नडराइकन प्रस्तुत गरेको बताए । लेखकले खुलेरै वैदेशिक हस्तक्षेप र धर्मका नाममा गरिएका अनेक खालका गतिविधिलाई यथार्थ रूपमा चित्रण गरेको बताए । देश कसरी थिलथिलो बनिरहेको छ र देश भत्काउनका लागि कुनकुन पक्ष उद्यत भएर लागि परेका छन् भन्ने कुराको प्रमाणसहित जवाफ दिएको प्रा.डा. पोख्रेलले बताए ।

des kina banena  (1)

उनले नेपालका केही ठूला मिडिया सञ्चालकहरुले पनि विदेशीको डलर खाएर देशमा केही नभएको भन्दै निराशा छाउने काम गरिरहेको अवस्थामा पुस्तकका लेखकले पनि देश किन बनेन भन्ने पुस्तक निकालेर आगोमा घिउ थप्ने काम गरेको हो कि भन्ने भान परेको बताए ।

suzuki dharan

सहभागीको तर्फबाट आफ्ना भनाइ राख्दै सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय नेता पदम अधिकारीले समग्रमा पुस्तकमा समेटिएका सामग्री पठनीय रहेको बताए । कतिपय कुराहरु अष्पष्ट रहेकाले थप बहस र छलफल आवश्यक रहेको उनको भनाइ थियो ।

अर्का सहभागी अधिवक्ता रमेश पोख्रेलले देश किन बनेन पुस्तकले आम नागरिक मात्र नभई नेतृत्व वर्गलाई झक्झक्याउने काम गरेको बताए । उनले अब देश किन बनेन पुस्तकको दोस्रो भाग आउँदा देश यसरी बन्छ भन्ने विकल्प सहितका समाग्री आउने आशा राखेको बताए ।

महिला सहभागीको तर्फबाट कुरा राख्दै शान्ति गजमेरले आधाभन्दा बढी जनसङ्ख्या ओगटेका महिलालाई नेतृत्व तहमा सहभागिता नगराउँदा देश बन्न नसकेको कुरा समेत महत्वका साथ पुस्तकमा उठाएको भए थप राम्रो हुनेमा जोड दिइन् ।

अन्तरक्रियाको अन्त्यमा पुस्तकका लेखक प्रकाश विकल्पले आफू लामो समय सुशासन महाअभियानमा आबद्धभएर धेरै देशहरु घुमेको युवा भएकाले सोही अभियानअन्तर्गत आफूले पुस्तक प्रकाशन गरेको बताए । उनले आफू आबद्ध सुशासन महासङ्घ संस्थालाई काठमाडौं जिल्ला प्रशासन कार्यालयमा कानुनअनुसार दर्ता गराउँदा पनि घुस दिनुपरेको बताए ।

५ हजार घुस नदिई कामै नभएको यथार्थ बताउँदै देश भ्रष्टाचारले जताततै प्वाल परेको उनले बताए । यस्ता विकृति, विसङ्गति टुलुटुलु हेरेर बसिरहेका आम नागरिक देशभरबाटै जाग्नुपर्छ, उठ्नुपर्छ भन्ने ध्येयका साथ पुस्तक प्रकाशन गरेको उनले बताए ।
उनले उदाहरण दिँदै भने, ‘पहिले काठमाडौंमा सवारी साधनको लाइसेन्स लिँदा ५ हजारमात्र दिँदा हुन्थ्यो । भ्रष्टाचार भो भनेर अख्तियारले यातायात कार्यालयमा निगरानी बढाएपछि अहिले बढेर ५० हजार पुगेको छ । यो यथार्थ हो । अनि देशमा कसरी सुशासन कायम हुन्छ, अनि नेताहरूले भाषणमा मात्र रटिरहने समृद्ध नेपाल कसरी बन्छ ? यो गम्भीर प्रश्नबाट पुस्तकको जन्म भएको हो ।’

desh  (1)

उनले थपे, ‘अब पनि देशको नेतृत्व वर्गले आफूलाई करेक्सन नगरे म जस्ता देशका आम युवाले त्यसै छोड्नेवाला छैनन् ।’ उनले पञ्चायतकाल, बहुदलीय व्यवस्था, लोकतन्त्र र गणतन्त्रसम्म आइपुग्दा सरकारको नेतृत्व गर्नेहरूले अन्तिम समयमा यो सरकार पुरै सफल भो भन्छन् । तर देशको विकासको अवस्था, नागरिकको आर्थिक अवस्था जहाँको त्यहीँ हुन्छ ।’

आफूले प्रकृति, मानवता र विज्ञानलाई आधार मानेर पुस्तक प्रकाशनमा ल्याएको उनले बताए । उनले देश किन बनेन भन्ने कुरा घामझैँ छर्लङ्ग पारेपछि कसरी बन्छ भन्ने कुरा लेखिरहनुपर्छ भन्ने नभएको बताए । नबन्नुका कारणलाई सुक्ष्म तरिकाले केलाएर आफूआफूलाई करेक्सन गरेर अगाडि बढे देश बन्दै जानेमा कुनै शङ्का नै नभएको उनको भनाइ थियो । उनले अन्तरक्रियामा आएका सुझावलाई पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै अबका पुस्तक लेखनमा ध्यान दिने पनि उल्लेख गरे ।अन्तर्क्रियाकाे सहजीकरण मानवअधिकारकर्मी रमेश भट्टराइले गरेका थिए । 

 

desh  (2)