झापाः जयन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनोट गरेको छ ।

कोषले यस वर्ष झापा घर भई काठमाडौँ बस्दै आएकी स्रष्टा अर्चना थापाको ‘कठपुतला’ कृतिलाई २०७४ मा प्रकाशित वर्षोत्कृष्ट कृति पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । कोषद्वारा स्थापित विष्णु–चन्द्र–पद्मा दीर्घ साहित्य सेवा पुरस्कारबाट साहित्यकार कृष्ण धरावासीलाई सम्मान गर्ने निर्णय गरिएको कोषका महासचिव छविलाल खतिवडाले बताए ।

कोषले विष्णुकुमार भट्टराईको संयोजकत्वमा उत्कृष्ट कृति तथा दीर्घ साहित्य सेवा सम्मान छनोट उपसमिति गठन गरेको थियो । कोषले क्रियाशील महिला पत्रकारलाई प्रत्येक वर्ष प्रदान गर्दै आएको धनमाया महिला सक्रिय पत्रकारिता पुरस्कार हिमालय टेलिभिजन झापाकी संवाददाता भारती राईलाई प्रदान गर्ने निर्णय गरेको छ । सबै पुरस्कार माघ १६ गते प्रदान गरिने बताइएको छ ।