खेम ‘खेपा’

गाउँमा भन्दा शहरमा
अनि शहरमा भन्दा राजधानीमा
धेरै हुन्छन् अपराध ।

त्यहाँ अक्षरको खेती गर्ने

अक्षरकर्ममा रमाउनेको कुनै ठाउँ हुँदैन ।

प्रादेशिक राजधानीको दाबेदार इटहरी,
राजधानीमा बस्ने गर्छन् क्रुर शासक ।

अपराधीलाई ठिङ्ग्याउन
आदेश दिने इजलाश चाहिन्छ
अपराधीलाई तुरुङमा हाल्न पनि
आवश्यक ठाउँ चाहिन्छ
आधुनिक समाजमा पुस्तक कसैले पढ्दैन
पुस्तकालय कोही जाँदैन
त्यसैले किन चाहियो पुस्तकालय ?

ठूला मानिसका लागि जेल बनाउनुभन्दा
बालबालिकाका लागि पुस्तकालय बनाउनु वेश
अब यस्तो गलत विचार घोकाइनु हुन्न
अक्षरसँग दुश्मनी गर्नेसँग
बौद्धिक दुर्दशा हेर्न चाहनेसँग नसोध
किन भत्काइन्छ पुस्तकालय
किन भाँचिन्छ कलम
अनि किन च्यातिन्छ पुस्तक ?