इटहरीः  जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभर खसी र बोकाको मासुको अधिकतम उपभोक्ता खुद्रा मूल्य प्रति केजी रु १,१०० (एक हजार एक सय रुपैयाँ) निर्धारण गरेको छ। 

उपभोक्ताहरूबाट मासुको मूल्य अचानक बढेको गुनासो र उजुरीहरू प्राप्त भएपछि प्रशासनले यस्तो कदम चालेको हो।

जिल्ला प्रशासन कार्यालयद्वारा बिहिबार जारी सूचना अनुसार, गत माघ महिनामा खसीरबोकाको मासुको मूल्य प्रति केजी रु १,१०० कायम भएको थियो। हाल मासुको मूल्य तत्काल वृद्धि गर्नुपर्ने कुनै मनासिब आधार नदेखिएको र केही मासु व्यवसायीहरूले समेत सोही मूल्यमा बिक्री गर्ने प्रतिबद्धता व्यक्त गरेकाले अर्को व्यवस्था नभएसम्मका लागि यो मूल्य सीमा तोकिएको हो।

WhatsApp Image 2026-10-15 at 19.52.26

प्रशासनले जिल्लाभरका सबै मासु व्यवसायीहरूलाई प्रति केजी बढीमा रु १,१०० मा मात्र खसीरबोकाको मासु खरिद बिक्री गर्न अनुरोध गरेको छ। यदि कसैले यस सूचनाको बेवास्ता गरी अनुचित तथा अस्वाभाविक मूल्य लिई मासु बिक्री गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत जिल्ला प्रशासन कार्यालय सुनसरीले दिएको छ।