काठमाडौँः  नेपालीको रैथाने परिकार गुन्द्रुक प्रवर्धन गर्दै यसलाई अन्तर्राष्ट्रियस्तरमै विस्तार गर्ने तयारी सुरु भएको छ । यसका लागि होटेलले आफ्नो ‘मेनु’ मा गुन्द्रक समावेश गर्ने प्रतिबद्धता पनि जनाएका छन् । 


होटेल सङ्घ नेपाल (हान)ले बिहीबार काठमाडौँमा आयोजना गरेको ‘गुन्द्रुक राष्ट्रिय कार्यशाला’ का वक्ताले मौलिक खानाका रूपमा रहेको गुन्द्रकको पहिचान विस्तार गर्नुपर्ने आवश्यकता जनाएका हुन् । 


आरोग्य वर्ष २०२७ लाई लक्षित आयोजना गरिएको कार्यशालामा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले गुन्दु्रकलाई समेत होटेल तथा पर्यटन क्षेत्रको मेनुमा समावेश गर्नुपर्नेमा जोड दिए । होटेलको मेनुमा नेपाली रैथाने तथा मौलिक खानाका परिकार समावेश गर्नुपर्ने व्यवस्थालाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । हानका अध्यक्ष विनायक शाहले गुन्द्रुकको प्रवर्धन, व्यावसायिक उपयोग तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान स्थापित गर्नुपर्नेमा जोड दिए । यसका लागि गुन्दु्रकको पहिचान, बजारीकरण, खाद्य सुरक्षा, भण्डारण, अन्तर्राष्ट्रिय बजारीकरणसहित गुन्द्रुकलाई राष्ट्रिय दिवसको रूपमा मनाउनुपर्ने उनको धारणा थियो । 


कार्यक्रममा रोयल टुलिप काठमाडौँका केदार पाण्डेले होटेलले गुन्द्रुकलाई आफ्ना परिकार तथा मेनुमा समावेश गरी यसको प्रवर्धनमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । नेपाल पर्यटन, होटेल तथा पर्वतीय प्रतिष्ठानका कार्यकारी निर्देशक दिव्यराज पोखरेलले गुन्द्रुकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्न शैक्षिक तथा व्यावसायिक पाठ्यक्रममा यस विषयलाई समेट्न सकिने धारणा व्यक्त गरे ।


कार्यक्रममा हानका महासचिव साजन शाक्यले गुन्द्रुकको उत्पादन, गुणस्तर, व्यावसायिक प्रयोग, पर्यटन तथा आतिथ्य क्षेत्रमा प्रवर्धनलगायतका विषयमा सम्बन्धित सरोकारवालासँग निरन्तर छलफल र सहकार्य गरिने बताए  । यो खबर आज प्रकाशित गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।