मुस्ताङमा सीमा पूर्वाधार बनाउन पनि सहयोगको आश्वासन

इटहरीः चीनले तिब्बतको झोङ्बा काउन्टी जोड्ने मुस्ताङको ल्होमान्थाङ गाउँपालिका– ४ मा अवस्थित कोरोला नाकालाई अन्तर्राष्ट्रिय सीमानाका बनाउने प्रस्ताव गरेको छ । चीनले परराष्ट्र मन्त्रालयमार्फत पूर्वाधार विकास मन्त्रालयमा यही साता चिठी पठाएर उक्त प्रस्ताव गरेको छ । यो नाका समुद्री सतहबाट चार हजार ६ सय मिटर उचाइमा छ ।


१० भदौमा भोटेकोशीको प्रलयकारी बाढीले रसुवागढी केरुङ सीमाका सबै पूर्वाधार बगाएपछि कोरोला नाकाबाट सामान ढुवानी हुँदै आएको छ । अघिल्लो साताको बाढीका कारण म्याग्दीमा बाटो र पुल बिग्रेका कारण उक्त नाकाको नेपालतर्फ अवरोध छ । उक्त अवरोध खुलाउने तयारी भइरहेका वेला चीन सरकारले एक वर्षका लागि कोरोलालाई अन्तर्राष्ट्रिय नाका बनाउने प्रस्ताव गरेको हो । नेपालतर्फ सीमावर्ती पूर्वाधार निर्माणमा पनि नेपालले चाहेअनुसार सहयोग गर्ने चिनियाँ प्रस्ताव छ । नेपालतर्फ भन्सारलगायतका व्यवस्थित पूर्वाधार तथा बत्ती र पानीको सहज सुविधा छैन । चीनले अध्यागमन, भन्सारलगायत सीमा पूर्वाधार तयार गरिसकेको छ ।


ल्हासास्थित चीनको स्वशासित क्षेत्र तिब्बतका लागि नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले चीन पक्षबाट कोरोला नाकालाई अन्तर्राष्ट्रिय सीमानाकाका रूपमा प्रस्तावित गरिएको जानकारी दिए । नेपाल र तिब्बत ९चीन०बिच हाल तीनवटा अन्तर्राष्ट्रिय नाका छन् भने करिब १४ जति परम्परागत नाका छन् । तत्काल एक वर्षका लागि अन्तर्राष्ट्रिय नाकाका रूपमा कोरोलालाई मान्यता दिने चीनको प्रस्ताव छ । यसलाई नेपाली अधिकारीहरूले स्वागत गरेका छन् । 


‘कोरोला नाकालाई व्यवस्थित गरेर सञ्चालन गरौँ र अन्तर्राष्ट्रिय नाकाका रूपमा विकास गरौँ भन्ने हाम्रो पहिलेदेखिकै भनाइ हो, अहिले चीनले प्रस्ताव गरेको छ । यसलाई हामीले स्वीकार नगर्ने प्रश्नै छैन,’ एक उच्च सरकारी अधिकारीले भने । 


हाल सिन्धुपाल्चोकको तातोपानीबाट तिब्बतको जाङ्मु जोड्ने नाका, रसुवाको रसुवागढीबाट तिब्बतको केरुङ जोड्ने नाका र हुम्लाको हिल्साबाट तिब्बतको पुराङ काउन्टी जोड्ने नेपाल–चीन नाका अन्तर्राष्ट्रिय नाकाका रूपमा सञ्चालनमा छन् । यी तीन अन्तर्राष्ट्रिय नाका हुन् भने १४ परम्परागत नाका छन् । कोरोला परम्परागत नाकाका रूपमा छ । 


२४ असार ०८२ मा रसुवागढी क्षेत्रमा आएको बाढीपछि कोरोला नाकाबाट सामान आवतजावत हुँदै आएको थियो । रसुवागढी–केरुङ जोड्ने पक्की सीमापुल बगाएपछि चीन सरकारले बेलिब्रिज जडान गरेको थियो । त्यही पुलबाट यात्रु तथा मालवाहक गाडी ओहोर–दोहोर हुँदै आएकोमा १० भदौको विनाशकारी बाढीले नेपाल र चीनको सीमामा रहेका पुलसहित सबै संरचना बगाएपछि खण्डहर भएको छ । चीनले सीमासम्म बाटोको ट्र्याक खोलिसकेको छ, तर संरचना छैन । नेपालतर्फ सीमासम्म बाटो खोल्न तत्कालै सम्भव देखिएको छैन । 


सामानहरू आयात–निर्यातका लागि प्रयोग भइरहे पनि मुस्ताङको कोरोला नाका अहिले परम्परागत नाकाकै हैसियतमा छ । उक्त नाकाबाट सामानहरूको ओहोर–दोहोर भएको छ भने मुस्ताङ तथा तिब्बतको झोङ्बा काउन्टीका बासिन्दालाई मात्रै सीमाबाट ३० किलोभिटरभित्र व्यापार तथा आवतजावतका लागि अनुमति छ । यसलाई अन्तर्राष्ट्रिय नाकाको मान्यता दिएपछि सामान तथा यात्रुहरू कोरोला नाका भएर आवत–जावत गर्न सक्नेछन् । 


दसैँअघि नै तातोपानी नाका पनि सञ्चालन गर्न चीन सकारात्मक भएको अधिकारीहरूले बताएका छन् । नेपाली महावाणिज्यदूत निरौलाले कूटनीतिक प्रयास भइरहेको र आफू आशावादी रहेको प्रतिक्रिया दिए ।


यी हुन् चीनसँगका परम्परागत नाका

नेपाल र चीनबिच कोरोलासहित १४ परम्परागत नाका छन् । परम्परागत नाकाहरूमध्ये अधिकांश सञ्चालनमा छन् । ती नाकाहरू स्थानीय सीमावर्ती बासिन्दाका लागि मात्रै आवत–जावतका लागि प्रयोगमा छन् । 


परम्परागत सीमानाकाहरूमा तिब्बतको चेन्ताङ बन्दरगाहनजिकै साँघु जोड्ने संखुवासभाको भोटखोला गाउँपालिका– १ स्थित किमाथांका नाका, चीनतर्फ रिउ ९डिंगे काउन्टी०सँग जोडिने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलास्थित तिप्ताला भन्ज्याङ, तिब्बततिर न्यालम काउन्टीअन्तर्गत रान्मुदिमामा जोडिने दोलखाको बिगु गाउँपालिका– १, लामाबगरस्थित लाप्ची नाका, तिब्बततिर रोङसिया जोड्ने दोलखाकै बिगु गाउँपालिका– १ मा पर्ने अर्को फालक नाका र तिब्बतको गिरुङ काउन्टीको गोङदाङ जोड्ने गोर्खाको छेकम्पारस्थित नाका थाप्लापास छन् । त्यस्तै, तिब्बतको मियायोङ पियान्जी जोड्ने डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित मार्युम्ला पास, मुगु र तिब्बतको झोङ्बा काउन्टीस्थित नाइजु जोड्ने नाका, गोरखाको रुइला र तिब्बतको गिरोङ काउन्टी जोड्ने नाका, तिब्बत जोड्ने बझाङको उराइलेक पास, मनाङको नार्पाभूमि गाउँपालिका– ५, फुस्थित क्याङछिमी र तिब्बतको गिरुङ काउन्टी जोड्ने नाका, हुम्लाको लिमी लाप्चा र तिब्बतको बुराङ काउन्टी जोड्ने लिमी लाप्चा नाका, दार्चुलाको तिंकर र तिब्बतको बुराङ (पुलान)को डिंगाछिदे जोड्ने नाका पनि स्थानीयका लागि खुला छन् । सोलुखुम्बुको सीमा जोडिएको नाका पनि स्थानीयका लागि खुला छ  । यो खबर आज प्रकाशित नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।