काठमाडौँ ः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको छ । 


ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा प्रणालीको मुख्य आधारको रुपमा रहेको राष्ट्रिय प्रसारण लाइनलाई बलियो बनाउने उद्देश्यका साथ निर्माणाधीन प्रसारण लाइनको काम समयमै सम्पन्न गर्न उत्पन्न भएका अवरोध हटाउन पहल लिएका हुन् । 

मन्त्रालयले बिहीबार निर्माणाधीन १२ वटा प्रसारण लाइन परियोजनाका प्रमुखहरुलाई बोलाएर ब्रिफिङ लिएको छ । परियोजना प्रमुखहरुले प्रसारण लाइन विस्तार गर्दा वन विभागबाट रुख काट्न अवरोध भएको र सडक विभागबाट पोल तथा टावर सार्न पर्याप्त समय नपाएको ब्रिफिङ गरेका थिए । 

‘निर्माणाधीन प्रसारण लाइनको अवस्था के कस्तो छ र तत्काल प्रसारण लाइनलाई व्यवस्थित बनाउन १२ वटा प्रसारण लाइन परियोजना प्रमुखलाई मन्त्रालयमा बोलाएर वस्तुस्थितिबारे जानकारी लिइएको छ,’ नेपाल विद्युत प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले भने । उनकाअनुसार परियोजना प्रमुखहरुले वन विभाग र सडक विभागबाट हुन गएको समस्याहरु बताउँदै समाधानका लागि मन्त्रालयबाट अन्य मन्त्रालयसँग समन्वय भएपछि निर्माण कार्यले गति लिएको पनि जानकारी गराएका थिए ।

biraj 2


विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख नवराज ओझाकाअनुसार ब्रिफिङमा १२ वटै आयोजनाको निर्माण कार्य यसै वर्षभित्र सम्पन्न हुने जानकारी प्राप्त भएको छ । 

उनकाअनुसार छलफलमा तुम्लिङटार सितलपाटी २२० केभी, ढल्केबर बाणगंगा १३२ केभी, कोहलपुर सुर्खेत दैलेख १३२ केभी, नेपालगन्ज नानपारा १३२ केभी, लालबन्दी सलिमपुर १३२ केभी, इनरुवा विराटनगर १३२ केभी, हेटौंडा ढल्केबर ४ सय केभी र कालिगण्डकी रिढी १३२ केभीका आयोजना प्रमुखले निर्माणको कार्यप्रगति प्रस्तुत गरेका थिए । 


इनरुवा विराटनगर प्रसारण लाइनमा म्याद थप गर्दा पनि ठेकेदारले काम नगरेपछि पेटी ठेकेदारलाई नै सम्पूर्ण भुक्तानी गरी तीन महिनाभित्र काम सम्पन्न गर्नेगरी समन्वय भएको छ ।हेटौंडा ढल्केबर ४ सय केभीको वनको समस्या समाधान भई आगामी कात्तिकसम्म सम्पन्न हुने जानकारी गराइएको थियो ।

biraj 1


‘घटीमा ६ महिनामा र बढीमा एक वर्षमा प्रसारण लाइनहरु मुख्य ग्रिडमा जोडिने अवस्था छ । जसले गर्दा उक्त क्षेत्रहरुमा रहेका ट्रिपिङ (झ्याप झ्याप वत्ती जाने)को समस्याहरु हल हुनेछ,’ ऊर्जामन्त्रीका प्रमुख सल्लाहकार अनिल कुमार अधिकारीले भने ।  


मन्त्री श्रेष्ठले आयोजना प्रमुखहरुलाई अन्तर मन्त्रालयअन्तर्गत रहेका समस्याहरु तत्काल समन्वय गरी समाधान गरिने प्रतिबद्धता व्यक्त गरे । प्रसारण लाइन ऊर्जा प्रणालीको मुख्य आधार भन्दै उनले परियोजना प्रमुखहरुलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिए । निर्माण कार्य गर्ने क्रममा केही समस्या आए तत्काल जानकारी गराउन अनुरोध गर्दै उनले त्यसलाई समाधान गर्न मन्त्रालय तयार रहेको स्पष्ट पारे ।