इटहरीः निजामती कर्मचारी स्रष्टाको रूपमा कवि बद्री भिखारीलाई शनिबार निजामती कर्मचारी सङ्गठन सुनसरीले अभिनन्दन गरेको छ । शनिबार सप्तकोशी नदीको किनारमा भएको सङ्गठनको वनभोज कार्यक्रममा भिखारीलाई भूपू निजामती कर्मचारी स्रष्टाको रूपमा अभिनन्दन गरिएको हो ।

कार्यालयको काममा व्यस्त रहँदा समेत निरन्तर नेपाली साहित्यको विकासमा कलम चलाएकोमा भिखारीलाई सम्मान गरिएको बताइएको छ । अभिनन्दन पत्र र दोसल्लाले सम्मान गर्दै भिखारीलाई निजामती कर्मचारी सङ्गठनका केन्द्रीय उपाध्यक्ष भुवन राई लगायतले अभिनन्दित गरेका थिए ।

अभिनन्दनको क्रममा भिखारीको संक्षिप्त जीवनी अनिल पोख्रेलले प्रस्तुत गरेका थिए । कार्यक्रममा स्रष्टा भिखारीले ‘नागरिकता’ र ‘तिम्ले राम्रो भनेपछि’ शीर्षकका कविता वाचन गरेका थिए ।

पहिलो पटक स्रष्टालाई अभिनन्दन गरेको सङ्गठनले पुनः भिखारीको एकल कविता कन्सर्ट समेत गराउने जानकारी दिएको छ ।

badri sir abhinandan  (1)