विराटनगरः नेपाली कथा, कविता, बाल साहित्य, समालोचना, अनुवाद आदिमा चिनिएका साहित्यकार तथा प्राध्यापक महेश पौडेल विराटनगरमा पुरस्कृत भएका छन् । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रदान गरेको सुदीश निरौला स्मृति साहित्य पुरस्कारबाट उनी पुरस्कृत भएका हुन् ।

आइतबार दिउँसो २ बजे विराटनगरको भृकुटी चोकमा अवस्थित डाक्टर विमला श्रेष्ठ सभाभवनमा आयोजना गरिएको एक कार्यक्रमका बीच उनी पुरस्कृत भएका हुन् ।

प्रतिष्ठानका अध्यक्ष तथा प्राज्ञ विवश पोखरेलले नेपाली भाषा, साहित्य, अनुवाद आदिमा महत्वपूर्ण योगदान दिएको भन्दै सुदीश निरौला स्मृति पुरस्कारबाट पहिलो पटक पौडेललाई पुरस्कृत गरिएको बताए । पुरस्कार पाएपछि संक्षिप्त सम्बोधन गर्दै साहित्यकार पौडेलले आफू पनि पूर्वाञ्चल क्षेत्रको भएको र पूर्वाञ्चल साहित्य प्रतिष्ठानको पुरस्कार पाएकोमा खुशी लागेको बताए । पुरस्कारले साहित्यमा काम गर्ने ऊर्जा बढ्ने पौडेलले बताए ।

पुरस्कार वितरण समारोहमा पूर्वका चर्चित कवि, लेखक, साहित्यकारको बाक्लो उपस्थिति थियो । कार्यक्रममा कवि बद्री भिखारी, सुमन पोखरेल, हेमन यात्री, देवान किराती, उमेश लुइँटेल, टीका आत्रेय पौडेल, शुभलक्ष्मी लम्साल आदिको उपस्थिति रहेकोे थियो ।

MAHES PAUDEL PURASKRIT  (1)