काठमाडौंः  नेपालीहरूको महान् चाड बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई लक्षित गर्दै गृह मन्त्रालयले विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका अवसरमा शान्ति, सुरक्षा, समृद्धि र सामाजिक सद्भाव कायम राख्दै नागरिकलाई सुरक्षित रूपमा पर्व मनाउने वातावरण बनाउन मन्त्रालयले सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरूलाई आवश्यक निर्देशन दिएको छ।

गृह मन्त्रालयले चाडपर्वको समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी, अवाञ्छित गतिविधि तथा अन्य आपराधिक क्रियाकलाप नियन्त्रण गर्न राजमार्ग, मुख्य सडक, भीडभाड हुने स्थान र संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएको हो।

मन्त्रालयका अनुसार देशभरका ७७ वटै जिल्लामा शान्ति सुरक्षा, विपद् व्यवस्थापन, बजार अनुगमन, अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन आवश्यक व्यवस्था मिलाइएको छ। साथै, सुरक्षा निकायहरूलाई चाडपर्वको अवधिमा समेत २४ सै घण्टा परिचालन गरी सुरक्षा निगरानी बढाइएको छ।

चाडपर्वका बेला यात्रु ठगी, बढी भाडा असुली र सवारी नियम उल्लङ्घन रोक्न पनि मन्त्रालयले विशेष ध्यान दिएको छ। सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु बोक्ने, मादक पदार्थ वा लागूऔषध सेवन गरी सवारी चलाउने तथा यात्रुसँग बढी भाडा लिने कार्य नियन्त्रण गर्न जाँचलाई प्रभावकारी बनाइएको छ। यात्रुको सहजताका लागि प्रमुख बसपार्क, सीमा नाका र चोकहरूमा यात्रु सहायता कक्षसमेत सञ्चालनमा राखिएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, देउसी–भैलो, मूर्ति विसर्जनलगायत धार्मिक तथा सांस्कृतिक कार्यक्रमका क्रममा साम्प्रदायिक सद्भाव कायम राख्न आवश्यक समन्वय र सहकार्य गरिनेछ। पटका तथा आतिशबाजीजस्ता विस्फोटक प्रकृतिका वस्तुको अवैध आयात, ओसारपसार र प्रयोग नियन्त्रण गर्न सुरक्षा टोली परिचालन गरिएको छ।

कालोबजारी र अवैध जुवाविरुद्ध निगरानी

चाडपर्वको समयमा खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने र गुणस्तरहीन खाद्यवस्तु बिक्री–वितरण गर्ने गतिविधि नियन्त्रण गर्न नियमित बजार अनुगमन गरिने मन्त्रालयले जनाएको छ।