काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विजयादशमीको अवसरमा देश तथा विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन्।


प्रधानमन्त्री शाहले विजयादशमीलाई असत्यमाथि सत्यको विजयको उत्सवका रूपमा उल्लेख गर्दै यस पर्वले समाजमा रहेका नकारात्मक सोच र विकृति अन्त्य गर्न प्रेरणा दिने बताएका छन्।


उनले पौराणिक मान्यताअनुसार विजयादशमीकै दिन दुर्गा भवानीले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्ग उल्लेख गरेका छन्।


विजयादशमीका अवसरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले परिवार तथा आफन्तबीच आत्मीयता, सम्मान र सद्भाव बढाउने प्रधानमन्त्री शाहको सन्देश छ। टाढा रहेका मान्यजनलाई समेत खोजीखोजी भेटेर आशीर्वाद लिने परम्पराले नेपाली समाजको पारिवारिक सम्बन्ध र सांस्कृतिक एकतालाई बलियो बनाउने उनले उल्लेख गरेका छन्।


प्रधानमन्त्री शाहले विजयादशमीलाई धार्मिक र सांस्कृतिक पर्वका रूपमा मात्र नभई समाजमा विद्यमान विकृति र विसङ्गतिविरुद्ध सङ्कल्प गर्ने अवसरका रूपमा पनि लिनुपर्नेमा जोड दिएका छन्।


उनका अनुसार मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्नु आवश्यक छ। त्यसैगरी भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट हुनुपर्ने उनको सन्देश छ।


हरेक नागरिकले सरकार आफ्ना लागि छ भन्ने अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्न इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत आवश्यक रहेको प्रधानमन्त्री शाहले बताएका छन्। परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्नुपर्नेमा उनले जोड दिएका छन्।


विजयादशमीले भौगोलिक, सांस्कृतिक तथा भाषिक विविधताले भरिएको नेपाली समाजका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्ने अवसर प्रदान गर्ने पनि उनले उल्लेख गरेका छन्। वर्षौँदेखि टाढिएका साथीभाइ तथा आफन्तसँग भेटघाट गरी आत्मीयता साटासाट गर्ने अवसरका रूपमा समेत यस पर्वको विशेष महत्त्व रहेको उनको सन्देश छ।


अन्त्यमा प्रधानमन्त्री शाहले सबैलाई आ–आफ्नो स्थान र क्षमताअनुसार विजयादशमी मनाउन, आपसमा सद्भाव, एकता, सम्मान र माया साटासाट गर्न आह्वान गर्दै ‘जय दुर्गा भवानी’ भनेका छन्।