विराटनगरः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदनकुमार भण्डारीका हत्यारा हालसम्म पत्ता नलागे पनि उनको विचार देशैभर फैलिएको बताएका छन् ।

मोरङको झोराहाट नाट्य समूहले तयार पारेको भण्डारीको राजनीतिक जीवनीमा आधारित ‘बर्बरिक’ नाटक हेरेपछि खनालले यस्तो बताएका हुन् । वर्ग सङ्घर्ष तीव्र भएको समयको त्यो घटना गम्भीर र दुःखद् भएको उनले प्रतिक्रिया दिए । देशको कुनाकुनामा ‘बर्बरिक’ जन्मिएकाले राजनीतिक परिवर्तनसँगै हामीले आशा गर्ने ठाउँ पलाएको खनालको भनाइ थियो ।

लेखक प्रदीप नेपालको उपन्यास ‘बर्बरिक’लाई नाट्य रुपान्तरण गरिएको सो नाटक कुञ्ज थिएटर, काठमाडौँमा प्रदर्शन भइरहेको छ । तत्कालीन नेकपा (एमाले)का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । नेता भण्डारीको अगुवाइमा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ विचारले कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिकीकरण गराएको थियो । भूमिगतकालमा भण्डारीलाई ‘बर्बरिक’, ‘भीष्म’ आदि नामले चिनिन्थ्यो ।

नाटकले पञ्चायतको विरोधमा तत्कालीन नेकपा (माले)ले गरेको सङ्घर्ष, विसं २०४६ को जनआन्दोलनमा नेपाली काङ्ग्रेसका शीर्ष पुरुष गणेशमान सिंह र नेता भण्डारीको सहकार्य आदि विषयलाई उतारेको छ ।

नाटकमा जीवन बरालको निर्देशन छ भने डेढ दर्जन कलाकारले अभिनय गरेका छन् । समूहका अध्यक्ष एवं उपन्यासको नाट्य रूपान्तरणकर्ता भरत गुरागाईं आफूहरू वर्तमान सत्तारूढ कम्युनिष्ट पार्टीका शीर्ष नेतादेखि राष्ट्रपतिसम्मलाई सो नाटक देखाउने लक्ष्य लिएर काठमाडौँ गएको बताउँछन् ।

कुञ्ज नाटक घरका अध्यक्ष कमल ढकालले जननेता भण्डारी नहुँदा उहाँको न्यास्रो मान्नेहरूलाई नाटकले न्यास्रो मेटाउने बताए ।