इटहरीः कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय भ्रष्टाचारको अखडा नै बनेको छ । यो मन्त्रालयको जिम्मेवारीमा रहेका मन्त्री सदानन्द मण्डलको ‘क्यूआर कोड’ काण्ड प्रकरण सेलाउन नपाउँदै सोही मन्त्रालयका सचिव विशाल घिमिरेको ‘खाली बिल’ प्रकरण सार्वजनिक भएको छ । 

बसन्तपुरका होटल व्यवसायीहरुले सचिव आफैले खर्च मिलाउनुपर्छ भन्दै धेरै वटा खाली बिलहरु लिएर गएको तर आजसम्म के कति कारणले हो , एक रुपियाँ पनि भुक्तानी नदिएको दावी गरेका छन् । १० करोडबढी बजेटछ विनियोजन गरिएको र केही दिनमै भुक्तानी भईहाल्ने सचिव स्वयम्ले आश्वासन दिएपनि हालसम्म एक रुपियाँ नदिएपछि स्थानीय होटल व्यवसायीहरु आक्रोशित भएका छन् । 

मन्त्री मण्डल र सचिव घिमिरेको सार्वजनिक भएका प्रकरणमा अन्य कर्मचारीहरुको पनि संलग्नता भएको चर्चा चलिरहेको छ । अझ कोशी प्रदेश सरकारले महत्वका साथ घोषणा गरेको कोशी पर्यटन बर्ष २०८२ त बदनाम नै सावित भईसकेको छ । कोशी पर्यटन बर्ष २०८२ लाई सफल बनाउनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै अग्रसरताका दुई समिति निर्माण गरिएको थियो । समिति निर्माण भएबाटै विवादित बनेको र समितिको विभिन्न जिम्मेवारीमा नियुक्त भएका व्यक्तिहरुको भ्रष्टआचरणका कारण कोशी प्रदेश पर्यटन बर्ष २०८२ असफल तर्फ धकेलिएको छ । 

बसन्तपुरका होटल व्यवसायीहरुका अनुसार सचिवले मात्र नभई पर्यटन कार्यालय, विभाग र समितिका जिम्मेवार पदाधिकारीहरुले पनि खाली बिल लगेका छन् । कतिपयले महंगा महंगा रक्सी खाएको तर बिल भने खाना,खाजा खाएको भन्दै बनाउन लगाएको होटल व्यवसायीहरुले बताएका छन् । 

bishal-ghimire-koshi-sachip-1536x1023

पाहुँनालाई चिया, खाजा, खाना खुवाएको, सुताएको रकम भुक्तानीका लागि कोशी प्रदेश पर्यटन बर्ष २०८२ उद्घाटन लगत्तैबाट पहल गरेपनि एक रुपियाँ नपाएपछि बसन्तपुरबाट होटल व्यवसायीहरुको टोलीनै पटक पटक विराटनगर आएर मन्त्रालय सचिव घिमिरे, समितिका पदाधिकारीहरु र मुख्यमन्त्री समेतलाई भेटेर तत्काल भुक्तानीका लागि आवश्यक कार्य गर्न आग्रह गर्दासम्म एक रुपियाँ नपाएको होटल व्यवसायीहरुको भनाई छ । 

त्यती मात्र होईन, विराटनगर, इटहरी र धरानबाट बस रिजर्भ गरेर २ सयबढीको संख्या मानिसहरु उद्घाटनका दिन आरआर गार्डेन लगिएको थियो । उनीहरुलाई भेडेटार र सिधुँवामा खाना खुवाइएको थियो । त्यसबेला दुई दुई वटा उपस्थिती सिल्पमा जवरजस्ती हस्ताक्षर गराइएको थियो । सिँधुवाको लाइन होटलमा महंगो दररेटमा खान खुवाईएको थियो । इटहरीमै पर्यटन मन्त्रालयका एक कर्मचारीले बसमै एक उपस्थिती सिल्पमा हस्ताक्षर गराई सकेकाहरुलाई सिँधुवामा खाना खाएपछि एक महिला कर्मचारीले पुनः अर्को सिल्पमा हस्ताक्षर गरेकी थिइन् । दुई पटक किन हस्ताक्षर भन्दै केहीले प्रतिवाद गर्दा बिहान इटहरीमा गरेको मन्त्रालय जाने हो , यो चाँही यहि पालिकाको रेकर्डका लागि भन्दै जवरजस्ती हस्ताक्षर गराएकी थिइन् । तर पछि त्यसरी पालिकाको नाम बेचेर हस्ताक्षर गराउने महिला कर्मचारी पर्यटन मन्त्रालय विराटनगरकै भएको पुष्टि भएको थियो । सिँधुवाको होटलमा इटहरीबाट गएका पाँहुनालाई खाना खुवाई पुनः हस्ताक्षर गराउन बासु बराल र इटहरीका होटल व्यवसायी दीपक पोख्रेल सक्रिय भई खटेका थिए । 

koshi-paryatan-opening

बसन्तपुरका एक होटल व्यवसायीले भने —‘सचिव र समितिका पदाधिकारीहरुले नै बस्ने र खाने बेलामा गुलिया कुरा गरे । तपाईहरुको भुक्तानी भईहाल्छ भन्दै हिसाब मिलाउनका लागि खाली बिल पनि मागे , हामीले पनि भुक्तानी आईहाल्ने सोचेर खाली बिल पनि दियौं । तर भुक्तानी लिन आउँदा घरी उता घरी यता देखाएर मुसालाई खेलाएझै गरियो । कोशी प्रदेश सरकारबाटै व्यवसायीमाथि ठूलो अन्याय गरियो । यसको जिम्मेवारी लिन कोशी तयार छैन् । मुख्यमन्त्रीको कुरा कसैले सुन्नेवाला छैन । यो प्रकरणले कोशी प्रदेश सरकार कसले र कसरी  चलाईरहेको छ भन्ने प्रश्नहरु उब्जिएको छ ।’ 

२७ चैत्रमा तेह्रथुमको लालीगुराँस नगरपालिकाको आरआर गार्डेनमा कमजोर व्यवस्थापनका बीच कोशी प्रदेश पर्यटन बर्ष २०८२ को शुभारम्भ गरिएको थियो । सो कार्यक्रममा विपक्षी दलका मात्र नभई सत्ता पक्षीय दलका धेरै प्रदेश सांसद र नेताहरु सहभागी भएका थिएनन् । आरआर गार्डेनमा कोशी प्रद्ेश पर्यटन बर्ष २०८२ घोषणाको तयारीका लागि मुख्यमन्त्रीले नै बिभिन्न समितिका नियुक्त गरेका आफुलाई पर्यटन व्यवसायी भन्न रुचाउने केही होटल तथा तालिम सञ्चालहरु कर्मचारी सहित एक साता अगाडि नै बसन्तपुर पुगेका थिए । सो अवधिमा पर्यटन सचिव घिमिरे पनि पटक पटक सो स्थान पुगेका थिए । बसन्तपुरको याक लगायतका राम्रा र महंगा होटलमा राजषी खानपान र मदिरामा रमाउँदै कसरी बिल बनाएर भ्रष्टाचार गर्ने भन्ने मै घिमिरे दत्तचित्त भएर लागेका थिए । उनलाई सघाउन पर्यटन कार्यालय काकरभिट्टा, धरान, विराटनगरका कर्मचारीहरु पनि सँगै गएका थिए । 

पर्यटन बर्ष २०८२ को उद्घाटन नहुन्जेलसम्म समितिमा रहेका विराटनगरका होटल व्यवसायी भविष श्रेष्ठ, धरान घर भई इटहरीका तालिम सेन्टर चलाई रहेका कृष्ण शाह, धरानमै होटल संचालन गरिरहेका बासु बराल लगायतको समूह निरन्तर खटेका थिए । 

उद्घाटन गर्नुअघिबाट उनीहरु बसेको होटल र उद्घाटनका दिन बिभिन्न क्षेत्रबाट सहभागी हुन आउने अतिथिहरुलाई स्थानीय होटलहरुमा राखिएको थियो । उनीहरुको बाँस, गाँस सहित भएको खर्च नयाँ आर्थिक बर्ष लागिसक्दा पनि एक रुपियाँ नपाएको  होटल व्यवसायी संघ तेह्रथुमका अध्यक्ष प्रकाश श्रेष्ठले बताए । 

पर्यटन वर्ष २०८२ का सहनिर्देशक भविश श्रेष्ठले कार्यक्रममा भएको खर्चका बारेमा आफूलाई थाहा नभएको दावी गरे  । उनले आफुले पहिलाबाटै भएका कार्यक्रमहरुको खर्च ऋण खोजेर गरेको र कतिपय खर्चहरु नपाएको बताए । 

पर्यटन वर्ष २०८२ मा भएको कामको विषयमा मुख्यमन्त्री कार्यालयसमेत असन्तुष्ट छ । प्रदेश सरकारको प्रतिष्ठासँग जोडिएका कार्यक्रम असफल हुने अवस्थामा पुगेको भन्दै मुख्यमन्त्री चिन्तित देखिएको उनीनिकट स्रोतको दावी छ ।