इटहरीः नेपाली चलचित्रको सबै गीत बिरलै सफल हुन्छन् । यो प्रसंगमा चलचित्र ’ऊनको स्विटर’ भने भाग्यमानी साबित भएको छ । यो चलचित्रका सबै गीतले करोड माथि भ्युज पाएर नयाँ रेकर्ड बनाएको छ ।
शनिवार ३७ औँ दिनमा प्रदर्शन भइरहेको यो चलचित्रले अझै मुलुकका बहुसंख्यक चलचित्र घरमा शो पाइरहेको छ । छैटौँ हप्तामा प्रवेश गर्दा पनि सफलताका साथ प्रदर्शन भइरहेको यो चलचित्रको सफलतामा यसका गीतको पनि त्यत्तिकै ठुलो योगदान रहेको निर्माण पक्षले जनाएको छ ।
यो चलचित्रमा समेटिएको चौथो गीत चाइनेजो जिन्दगानीमा‘लाई चलचित्र रिलिजको एक सातापछि मात्र युट्युबबाट सार्वजनिक गरिएको थियो । चलचित्रको निर्माण संस्था आर्टमान्डुको च्यानलबाट सार्वजनिक यो गीतले पनि यति बेला भ्यूज १ करोड भन्दा बढी कटाएको छ ।
चलचित्र रिलिज भन्दा एक वर्ष अघि नै यो चलचित्रको पहिलो गीत फूलहरू मुस्काउँछन‘’ लिरिकल भर्सनमा रिलिज भएको थियो । यो गीतले हालसम्म २ करोड १० लाख (२१ मिलियन) भन्दा बढी भ्यूज पाइसकेको छ । यस्तै यो चलचित्रको दोस्रो गीत मखमली...लाई पनि दर्शकले त्यत्तिकै रुचाए । यो गीतले पनि हालसम्म १ करोड ३० लाख (१३ मिलियन) भन्दा बढी भ्यूज कमाइसकेको छ । यी दुवै गीतमा सुजन चापागाईँको स्वर थियो ।
झुमा लिम्बुको संगीतसँगै झुमा र सुजनको स्वरमा रहेको यो चलचित्रको तेस्रो गीत काफ्ले‘त भाइरल नै भएको छ । यो गीतले पनि हालसम्म १ करोड ३० लाख (१३ मिलियन) भन्दा बढी भ्यूज युट्युवमा प्राप्त गरिसकेको छ । चार हप्ता अघि रिलिज भएको यो चलचित्रको चौथो गीत चाइनेजो जिन्दगानीमा‘ले १ करोड यति बेला १ करोड (१० मिलियन) भन्दा बढी भ्यूज युट्युवमा प्राप्त गरिसकेको छ । यसरी भ्युजको हिसाबले चलचित्र ऊनको स्विटरको चार वटै गीत करोड क्लबमा छन् । अझ पहिलो गीत त दुई सय करोड क्लबबाट माथि चढिसकेको छ ।
नवीन चौहानले निर्देशन गरेको ऊनको स्विटर व्यवसायिक हिसाबले २०८२ सालको पहिलो सुपर हिट चलचित्र साबित भइसकेको छ । नेपालभरका दर्जनौँ चलचित्र घर सहित अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप, मध्यपूर्वलगायतका देशहरूमा यो चलचित्र प्रदर्शन भइरहेको छ । चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपांगी मगर, सुनिल पोखरेल लगायतका कलाकारको अभिनय छ ।