विराटनगर/ प्रदेश १ सरकारले आफ्नै मातहतको शिक्षण अस्पताल सञ्चालनको पक्रिया अघि बढाएकोे छ । विराटनगरस्थित कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्न प्रदेश सरकार लागेको हो ।

प्रदेश सरकारले आप्mनो बजेट भाषणमार्फत् प्रदेश १ मा सुविधा सम्पन्न शिक्षण अस्पताल सञ्चालन गर्ने बताएको थियो । प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गरेअनुसार हालको कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा यस वर्षदेखि एमडीको अध्यापन शुरु गर्न लागेको हो । प्रदेश सरकारले काठमाडौस्थित वीर अस्पतालसँगको सहकार्यमा अध्यापन सञ्चालन गर्न लागेको हो ।

सामाजिक विकास मन्त्रालयले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्न लागिएको जानकारी दिए । सामाजिक विकास मन्त्री जीवन घिमिरेले साउनको अन्तिम साताबाट एमडीका लागि विद्यार्थी भर्ना लिएर यसै वर्षदेखि कोशी अञ्चल अस्पतालमा एमडीको पढाइ शुरु हुने जानकारी दिए ।

कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्नका लागि आवश्यक विद्यार्थी लगायतका विषयमा वीर अस्पतालसँग सहमति भइसकेको छ,’ मन्त्री घिमिरेले भने, ‘एमडी पढाइका लागि सबै विद्यार्थी वीर अस्पतालले पठाउने छ । कोशी अञ्चल अस्पतालमा प्रयोगात्मक कक्षाहरू सञ्चालन हुनेछन् ।’

मन्त्री घिमिरेका अनुसार प्रदेश सरकारसँग भएको सहमतिअनुसार वीर अस्पतालले यो वर्षको एमडीको अध्ययनअध्यापनका लागि ५ देखि १० जना विद्यार्थी कोशी अञ्चल अस्पतालमा प्रयोगात्मक अभ्यासका लागि पठाउने छ ।

उनले आगामी वर्षदेखि कोशी अञ्चल अस्पतालमा एमबीबीएसको पढाइ पनि सञ्चालन गरिने जानकारी दिए । ‘हालको कोशी अञ्चल अस्पताललाई विकास गर्दै लैजाने उद्देश्य अनुरूप आधुनिक र प्रविधियुक्त अस्पताल बनाउँदै लैजाने र उच्चस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने प्रदेश सरकारले लक्ष्य राखेको छ,’ मन्त्री घिमिरेले भने, ‘योसँगै अञ्चल अस्पताल भोलिको एक मात्र प्रदेश १ शिक्षण अस्पतालका रूपमा रूपान्तरित गरिने लक्ष्यका साथ त्यसको विकासका लागि प्रदेश सरकार लागि परेको छ ।’

सामाजिक विकास मन्त्रालयका उपसचिव फडिन्द्र खत्रीका अनुसार कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्न प्रदेश सरकारले ८ करोड रुपैयाँ विनियोजन गरेको छ । उनले प्रदेश सरकारले विनियोजन गरेको रकमबाट पहिलो वर्ष एमडीको प्रयोगात्मक कक्षा सञ्चालन र आगामी वर्षदेखि सञ्चालन गर्ने भनिएको एमबीबीएस कक्षाको तयारीका लागि आवश्यक पूर्वाधार निर्माणमा खर्च गरिने जनाए ।

कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रोशन पोखरेलले बिरामीको चापका कारण आवश्यक स्वास्थ्य सेवा दिन कठिनाइ भइरहेको समयमा प्रदेश सरकारले कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने योजना अघि सारेसँगै अस्पताललाई थप व्यवस्थित गर्नुका साथै विभिन्न सेवा विस्तार गर्ने काम भएको बताए ।

कोशी अञ्चल अस्पताललाई प्रदेशस्तरमा स्वास्थ्य सेवा उपलव्ध गराउने उद्देश्यका साथ थप व्यवस्थित गर्ने र आवश्यक सेवा समेत बिस्तार गर्ने बताइएको छ ।

मन्त्री घिमिरेले कार्डियोलोजी सेवा, ल्याबका सबै सेवा, नाक, कान, घाँटीको उपचार सेवा, क्यान्सर उपचार सेवा शुरु गरिएको उल्लेख गरे । त्यसैगरी पहिलो पल्ट कोशी अञ्चल अस्पतालमा न्युरो ओपीडी सेवासमेत थपिएको छ ।

०१३ सालमा ५० शैय्याबाट शुरु भएको सो अस्पतालमा अहिले साढे ३ सय शैय्या छन् । प्रदेश सरकारको बजेट भाषणअनुसार सामाजिक विकास मन्त्रालयले ग्रामीण क्षेत्रका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष सहुलियत दिएर एमबिबिएस अध्ययन गराउन सहयोग गर्ने कार्यक्रम पनि यही वर्षदेखि थाल्ने भएको छ ।

जसका लागि यस प्रदेशका सरकारी विद्यालयमा पढेका ५ देखि १० जना विद्यार्थीलाई छनोट गरी एमबिबिएस अध्ययनका लागि प्रदेश सरकारले सहयोग गर्नेछ । प्रदेश सरकारले सहुलियत प्रदान गरेर एमबिबिएस अध्ययन गरेका चिकित्सकले कम्तीमा ५ वर्ष ग्रामीण क्षेत्रमा रहेर करारमा स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने प्रावधान मन्त्रालयले बनाएको छ ।