काठमाडौँः मलेसियामा रोजगारीमा रहेका बर्दिवासका जुगल र प्रवास महतो यो वर्षको दसैं–तिहार मनाउन बिदा लिएर नेपाल आएका थिए । दसैँ–तिहार सकिएसँगै उनीहरू मंसिर १९ गते बेलुका मलेसिया फर्कंदै छन् । मलेसियाका जानका लागि उनीहरूलाई कम्पनीले नै मालिन्द्रो एयरलाइन्सको टिकट दिएको छ । तर, उनीहरूले श्रम स्वीकृति भने पाएका छैनन् ।

प्रवास र जुगलले दसैंअगाडि नै बर्दिवासबाट नै पुनः श्रम स्वीकृतिका लागि अनलाइनमार्फत आवेदन दिएका थिए । तर, एक महिनासम्ममा पनि श्रम स्वीकृति नपाएपछि उनीहरू गत १५ गते नै काठमाडौं नै आइपुगेका छन् । वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीले काम नगरेपछि तीनअगाडि नै काठमाडौंमा आउनुपरेको उनीहरूले बताए ।

धनकुटाका दीपेश सिन्जाली कतारमा १० वर्षदेखि लिमोजिन कम्पनीमा ड्राइभिङ गर्दै आएका छन् । २८ वर्षीय सिन्जाली पनि दसँै–तिहार मनाउन नेपाल आएका हुन् । उनलाई कतार फर्कनका लागि कम्पनीले नै मंसिर १८ गतेकोे हिमालयन एयरलाइन्सको टिकट पठाएको छ । सिन्जालीले पुनः श्रम स्वीकृतिका लागि १५ दिनअगाडि नै धनकुटाबाट अनलाइन आवेदन दिएका थिए । तर, अनलाइनले उनको आवेदन लिएन । त्यसैले सिन्जालीले कतार उड्नुभन्दा पाँच दिनअगाडि नै काठमाडौं आइपुगेको बताए । अनलाइनबाट काम हुन्छ भनेर ढुक्कले बसेको काम नभएपछि हतारमा नै काठमाडौं आउनुपरेको उनले गुनासो गरे । 

इलामका गम्भीर राई पनि साउदीबाट दसैँ–तिहारको बिदामा नेपाल आएका थिए । उनलाई कम्पनीले १९ मंसिर बेलुका हिमालयन एयरलाइन्सको टिकट दिएको छ । इलामबाट दुई साताअगाडि नै पुनः श्रम स्वीकृतिका लागि आवेदन दिए पनि प्रणालीले काम नगरेपछि गत साता काठमाडौं आएको उनले बताए । धेरै जनाको टिकट रद्द भएको थाहा पाएर हतारिँदै काठमाडौं आइपुगेको उनको भनाइ छ । एक साताअगाडि नै काठमाडाैं आएर बस्दा थप पैसा खर्च पनि हुने परिवारसँग बिताउने समय पनि नपाएको उनले बताए । 

यी घटनाहरू प्रतिनिधि मात्रै हुन् । तीन दिनमा अनलाइन प्रणालीबाट हुनुपर्ने श्रम स्विकृतिको काम महिना बित्दा पनि नभएपछि युवाहरू काठमाडौं धाउन बाध्य भएका छन् । गत सातादेखि वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा समस्या आएपछि काठमाडा}स्थित श्रम कार्यालयमा युवाहरूको भिड लाग्न थालेको छ । विभागले श्रम स्वीकृतिसम्बन्धी सबै काम अनलाइनमार्फत हुने बताए पनि समय–समयमा आउने समस्याले युवाहरू काठमाडौं नै धाउन बाध्य छन् । काठमाडौंस्थित श्रम कार्यालयअगाडि बिहान नौ बजेदेखि नै भिड लाग्न थालेको छ ।   

बिहान १० बजे कार्यालयको गेट खुल्नेबित्तिकै युवाहरू एकैपटक गेटभित्र प्रवेश गरेपछि सुरक्षाकर्मीले आज टिकट हुने यता र भोलि टिकट हुने उता भन्दै लाइन लाग्न आदेश दिए । सुरक्षाकर्मीको आदेशअनुसार छुटाछुट्टै लाइन लागे पनि ११ बज्दासमेत ताहाचल कार्यालयको झ्याल भने खुलेको थिएन । लाइनमा बसेका युवाहरू भने झ्यालमा लागेको पर्दा हेर्दै आक्रोशित भए । ‘म बिहान सात बजेदेखि लाइनमा आएर बसेको, तर यहाँका कर्मचारीलाई ११ बज्दा पनि अफिस खुल्दैन,’ एक युवाले आक्रोशित हुँदै भने ।  

 विभागको सफ्टवेयरमा सधैँ समस्या
२५ कात्तिक ०७३ मा वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा समस्या आएपछि श्रम स्वीकृतिको काम बन्द भयो । जसका कारण सयौँ श्रमिकले वदेशिक रोजगारीमा जानका लागि काटिसकेको एयरलाइन्सको टिकट गुमाउनुपर्‍यो । त्यस्तै, ५ माघ ०७६ मा पनि विभागको अनलाइन प्रणालीमा समस्या भयो । श्रम स्वीकृतिको काम नहुँदा धेरै श्रमिक अलपत्र परे । २३ कात्तिक ०७७ मा पनि विभागको अनलाइन प्रणालीमा समस्या देखिएपछि श्रम स्वीकृतिको काम ठप्प भयो । पछिल्लो २४ साउन र १४ कात्तिक ०८० मा पनि विभागको अनलाइन प्रणालीमा समस्या देखियो ।

जसका कारण श्रम स्वीकृतिको कार्य प्रभावित भयो । फेमिसमा बायोमेट्रिक डेस्क एप्लिकेसनबाट हुने श्रमिकको ओरेन्टेसन र बायोमेट्रिकको कनेक्सनमा समस्या आएको विभागले जानकारी दियो । पछिल्लो समय ८ मंसिरमा पुनः विभागले अनलाइन प्रणालीमा समस्या भएको सूचना जारी गर्दै डकुमेन्ट अपलोड नगर्न आग्रह गर्‍यो । विभागका अनुसार गत १० मंसिरमा अनलाइन प्रणालीले पुनः काम गरेन । गत मंगलबारदेखि प्रणालीमा सुधार आए पनि काम भने सुस्त गतिमा भइरहेको छ । 

विभागको अनलाइन प्रणालीमा समस्या देखिएका यी केही प्रतिनिधि उदाहरण मात्रै हुन् । विभागको तथ्यांक केलाउने हो भने सयाैंपटक अनलाइन प्रणालीमा समस्या हुने गरेको छ । पछिल्लो समय त महिनैपिच्छे समस्या देखिन थालेको छ । गत साउन, कात्तिक र मंसिर महिनामा पनि पटक–पटक अनलाइन प्रणालीमा समस्या भयो । 

अनलाइन प्रयोगकर्ताको संख्या अधिक भएपछि प्रणालीमा समस्या देखिएको विभागका सूचना अधिकारी कविराज उप्रेतीको जिकिर छ । ‘चाडपर्वको समयमा बिदामा नेपाल आउने–फर्कने घुइँचो छ । सबैले एकैपटक अनलाइन प्रयोग गर्दा प्रणालीले धान्न नसकेर सुस्त भएको हो,’ उनले भने ।  

 अनलाइनले झनै समस्यामा श्रमिक 
वैदेशिक रोजगार विभागले ०७९ सालमा विभाग पूर्ण रूपमा अनलाइनमा गएको घोषणा गर्‍यो । तत्कालीन वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मराज चालिसेले विभागले दिने सबै सुविधा अब अनलाइनमार्फत हुने पनि बताए । तर, वैदेशिक रोजगारीमा जाने श्रमिकले अनलाइन व्यवस्थाकै कारण दोब्बर सास्ती भोग्नुपरेको गुनासो छ । 

विभागले ०६४ मा श्रम स्वीकृतिको प्रक्रियालाई सहज बनाउन वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) नामक सफ्टवेयर खरिद गर्‍यो । बे्रनडिजिट नामक कम्पनीबाट विभागले सफ्टवेयर खरिद गरेको हो । त्यतिवेलामा श्रम स्वीकृति प्रिन्ट गर्न सफ्टवेयर खरिद गरिएको थियो । विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार सफ्टवेयर ०६९ मा अपडेट गर्नुपर्ने थियो । तर, अपडेट नगरेपछि सफ्टवेयरमा समय–समयमा समस्या देखिन थालेको उनले दाबी गरे । 

प्रणालीको क्षमता भने वृद्धि गरिएन । सोही कारण सफ्टवेयरमा समस्या आउने गरेको विभागका सूचना अधिकारी उप्रेतीको भनाइ छ । विभागले २ माघ ०७८ देखि पुनः श्रम स्वीकृति पनि अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरेको थियो । ५ जेठ ०७९ देखि भने श्रम कार्यालयले सबै सेवा अनलाइनबाट नै लिन सकिने व्यवस्था गरेको हो । 

जसमा श्रम स्वीकृतिका लागि भिसा, करारपत्र, स्वास्थ्य परीक्षण प्रमाणपत्र, परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र, अभिमुखीकरण तालिमबाट प्राप्त प्रमाणापत्र, सीपमूलक रोजगारमा जान सीप सिकेको प्रमाणपत्र, स्वघोषणा फाराम, जीवन बिमाशुल्क भुक्तानी र कल्याणकारी कोषको शुल्क पनि अनलाइन माध्यमबाट नै भुक्तानी गर्न सकिन्छ । 
विभागका सूचना अधिकारी उप्रेतीका अनुसार श्रमिकले श्रम स्वीकृतिका लागि आवेदन गरेको अधिकतम तीन दिनभित्रमा श्रम स्वीकृति अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ । तर, श्रमिकले भने महिनौँ दिनअगाडि आवेदन दिँदा पनि श्रम स्वीकृति प्राप्त नभएको गुनासो गरेका छन् । 

अनलाइन श्रम स्वीकृति नपाएपछि श्रमिक उड्ने मितिभन्दा नै अगावै काठमाडौं आउनुपर्ने बाध्यता छ । जसले श्रमिकलाई आर्थिक भार थपिएको छ । त्यति मात्रै होइन, समयमा नै श्रम स्वीकृति नपाउँदा कतिपय श्रमिकको एयरलाइन्स टिकट नै गुमेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।यो खबर आजको नयाँपत्रिकामा प्रकाशित भएको छ ।