खसीको टाउकाको परिकार रुचाउने पारखी धेरै हुन्छन्। खसीको टाउकोबाट दर्जनौं ब्यञ्जन बनाउन मिल्ने हुँदा यसमा धेरैको चाख जान्छ। खसीको मासुभन्दा टाउकोको मूल्य आधा जस्तो सस्तो पर्ने हुने भएकोले पनि खसी काटेका बेला टाउको पहिल्यै बुक गर्ने धेरै हुन्छन्।

खसीको टाउको केलाउने पनि एक कला हो। यो एक व्यावसायिक रुपमा मासु काट्ने व्यक्तिले मात्र गर्न सक्छ। यस सम्बन्धी ज्ञान नभएका व्यक्तिले खसीको टाउको केलाउँदा बिग्रने डर हुन्छ। टाउकोबाट सबै अङ्ग–अङ्ग छुट्याएर केलाउन सके मात्र यसको मिठास र छुट्टाछुट्टै परिकार तयार गर्न सकिन्छ। नत्र हड्डी, खप्परको झुर्का र दाँत मासुको भागमा मिसिन जान्छ र परिकारहरु खराब हुन्छ।

खसीको टाउकोलाई राम्ररी केलाएर काटेपछि नुन र बेसार हालेर उसिन्ने अनि चिस्याएर हड्डी छुट्याई तोरीको तेलमा भुटेर मुस्ताङे टिमुरको छोपसँग स्न्याक्सको रुपमा खान निकै स्वादिष्ट र स्वास्थ्यवद्र्धक हुन्छ। कतिलाई उसिनेको पनि मन पर्छ। कतिपयलाई साँदेर खान मन पर्छ भने कतिलाई छोइला बनाएको पनि मन पर्छ। बिरयानी बनाएर खाँदा पनि खसीको टाउकाको मासु निकै राम्रो र स्वादिष्ट हुन्छ। 

टाउकोको मासुको भुटुवा बनाएर खाँदा त झन् छुट्टै मज्जा आउँछ। खसीको टाउकाको चिल्ली पनि स्वादिष्ट स्न्याक्स बन्छ। खसीको टाउकाको सुप त झन् कुरै नगरौं, निकै स्वादिष्ट र स्वास्थ्यवद्र्धक हुन्छ  ।
विदेशको कुरा गर्ने हो भने कतिले ३ देखि ४ घण्टा उसिनेर खान्छन् भने कतिले स्टु बनाएर खान रुचाउँछन्। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता दक्षिण एसियाली देशहरुले खसी, भेडा या च्यांग्राको मासु खुब रुचाउने र विविध परिकारमा ढालेर बनाउने गर्छन्। यी देशहरुमा आ–आफ्नो देशको स्वादमा ढालेर करी बनाई चामल या रोटीसँग खान बढी रुचाइन्छ।

खसीको टाउकाको मासुलाई छिटो पकाउन या गाल्न प्रेसर कुकर प्रयोग गरिन्छ। ५ या ६ सिठ्ठी लगायो भने खसीको टाउको मस्तसँग गल्छ। तर प्रेसर कुकरमा गालेको भन्दा बाक्लो कराइ, तसला या फ्वाँसीमा गालेको मासु स्वास्थ्यद्र्धक र स्वादिष्ट हुन्छ। छिटो–छरितोको लागि हामी प्रेसर कुकर प्रयोग गर्छौं। तर यो भन्दा केही ज्यादा समय लागे तापनि हाम्रो परम्परा अनुसार नै पकाउँदा उत्तम हुन्छ।

खसीको टाउको कसरी सफा गर्ने
खसीको टाउको कसरी सफा गर्ने र हाड–मासु छुट्याउने यो प्रमुख विषय हो। खसीको टाउको सफा गर्दा धेरै नै ध्यान पु¥याउनुपर्ने हुन्छ। बलपूर्वक जबर्जस्ती काट्दा टाउकाको मासु बिग्रने र साना–साना हड्डी मासुमा मिसिने जोखिम बढ्छ। सर्वप्रथम त टाउकाको रौं राम्ररी पोलेर या तातोपानीमा डुबाएर निखार्नु पर्छ।

छिप्पिएको सिङलाई दाउ या खुर्पाले हानेर फुकाल्नु पर्छ। अब दुवै कान काटेर चिरेपछि राम्ररी खुर्केर सफा पानीले धुनु पर्छ। कान भित्र र बाहिर निकै फोहर जमेको हुन सक्छ। लाग्ने हतियार लिएर दुवै गालाको साइडबाट मासुलाई विस्तारै चिर्दै लानु पर्छ र ठ्याक्क दुई भागमा टाउकोलाई दुई हातको सहायताले च्याती छुट्याउनु पर्छ। 

दाँत, आँखा, गिदी होसियारपूर्वक निकालेर एक साइडमा राख्नु पर्छ र विस्तारै आफूलाई इच्छा लागेको टुक्रामा काट्नु पर्छ। टाउकोलाई आधा बनाएर उसिनेर मासु र हड्डी छुट्याउन पनि सकिन्छ। टाउकाको मासु रोज्दा आफूले खसी काट्दा पनि गर्दनको भाग केही बढी छ भने उत्तम परिकार बनाउन सकिन्छ नत्र धेरै हड्डी र कम मासुमा पर्ने डर हुन्छ।स्वास्थ्य खबरबाट