देवराज मिलन
आकाशका तारा गनेर
किरकिटी र सप्तऋषि 
आकाश गंगा नियाल्दै
ध्रुव तारा मध्य रातमा नियाल्दै
कहिले चारकोशे जंगल 
जिन्दगीको बाजि राखेर
कहिले सैनिक इलाका
कति कठोर थिए 
ती अन्धकार रातहरु।
पंचायत र प्रधानपंचहरु
अहिले कम्युनिस्टको केन्द्रमा हुनेहरु
हाम्रो सुराकी गरेर
घरमा प्रहरी पठाउथे
कतै पर्चा पम्प्लेटिङ भए
झापामा देवराज भन्थे
मेरि आमा र बालाई
मानसिक यातना दिन्थे
छोरालाई जेमद्वारमा फाल्छौ
गोलि हानेर मार्छौ
तर न बा आमा डराए
न देवराज डरायो
डरायो त केवल पंचायत
केवल पंच प्रधान डरायो।
बहुदलीय प्रणाली ल्याउन
युवा र जवानी त्यागियो
तर कहिल्यै नेता संग
आफ्नो मोल तोकिएन
त्यही भएर आज पनि
म अनकन्टार गाउँमा छु
नेताको सुनको अस्कोट संग
मैले नैतिकता साटिन कमरेड।
अहिले म संग औसधि किन्ने
उपचार खर्च छैन 
म संग काठमाडौमा 
आलिसान बंगला र प्राडो छैन
सांसद र मेयरको लागि
उम्मेद्बारको टिकट किन्ने पैसा नभएर
म संग न सांसदको पगरी छ
न छोरो तस्कर हुन सक्यो
न म नेताको खास मान्छे हुन सके
त्यही भएर म कमरेड हुन सकिन
त्यही भएर म कम्युनिस्ट बन्न सकिन
म एक झुत्रेझाम्रे भए
सुट टाइमा सजिन सकिन
त्यही भएर म कमरेड हुन सकिन
त्यही भएर म कम्युनिस्ट बन्न सकिन।
कमरेड हुन पुँजि हुनुपर्छ 
सांसद हुन टिकट किन्नु पर्छ
राजनैतिक नियुक्ति पाउन
बरिस्ठको भाइ भतिजो
कि श्रीमती हुनु पर्छ
म संग त्यो कुनै योग्यता छैन
अनि कमरेड 
म कसरी कमरेड हुन सक्छु
कसरी म कम्युनिस्ट बन्न सक्छु ?
मेरा जेल यात्री साथी 
एउटै थालमा भत खाएका
प्रधानमन्त्री बने कम्युनिस्टका
तर हल्लुड भाइलाई 
राजनीतिक नियुक्ति दिए
भ्रष्टाचारको मुद्दा हुदाहुदै 
फेरि उनै बलात्कारी
उच्च नियुक्ति मै परे
लौ भन्नू त कमरेड 
म कसरी कमरेड हुन सके
कसरी कम्युनिस्ट बन्न सके?
अब म कम्युनिस्ट हुन सकिन
म कमरेड बन्न सकिन
नेपालमा समाजवाद आउँछ भन्नेहरु
नयाँ सामन्तहरु हुन् 
नेपालमा अझै सय बर्स
न कम्युनिस्ट आउँछ
न समाजवाद आउँछ 
त्यही भएर म जस्तो निरीह
न कम्युनिस्ट हुन सक्छु
न म कमरेड बन्न सक्छु 
म त केवल गाउँ नछाड्ने 
एक मार्क्सको अनुवाद मात्रै हुँ
म एक स्वाभिमान मालेवादको नमुना हुँ।
                    
        
        
                            
                                                            
        



















