धरानः कविशिरोमणि लेखनाथ पौड्यालको १ सय ३५ औं जन्मजयन्तीको अवसरमा धरानमा साहित्यकार डा. झमक घिमिरेलाई २५ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

कविशिरोमणि साहित्य साधना समाजद्वारा आयोजित लेखनाथ जयन्ती समारोहमा सो पुरस्कार प्रदान गरिएको हो । समारोहमा नगद १० हजार राशी रहेको वराह ज्वेलरी दलित स्रष्टा पुरस्कार भने इटहरी निवासी साहित्यकार केशव सुनामलाई प्रदान गरियो । सोही समारोहमा खुला कविता प्रतियोगिताका लागि भनेर आह्वान गरिएको थियो ।

१ सय ५६ कविता मध्येबाट प्रारम्भिक छनोट समितिले छानेका १५ कविताको वाचन गराइएको थियो । तीमध्येबाट केराबारी मोरङ घर भई धरान केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा अध्ययनरत कवि नगेन्द्र सुवेदीको ‘म पागल भएको होइन’ पहिलो भएको थियो । बिर्तामोड निवासी कवि विवेक ‘निशानी’को ‘मैले तपाईं (बुवा) रोएको कहिल्यै देखिनँ’ शीर्षकको कविता दोस्रो र सोलुखुम्बु निवासी गणेशप्रसाद खतिवडाको ‘शपथ’ शीर्षकको कविता तेस्रो भएको थियो ।

महेन्द्र मोरङ क्याम्पस विराटनगरमा अध्ययनरत कवि योगराज दाहालको ‘देशको स्वाभिमान’ शीर्षकको कविताले सान्त्वना स्थान पाएको थियो । पुरस्कृत प्रतिभाहरूले क्रमशः १० हजार, ५ हजार, ३ हजार एवम् २ हजार नगद तथा प्रमाणपत्र प्राप्त गरे ।

प्रदेश नम्बर १ का प्रमुख प्रा.डा. गोविन्द सुब्बाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । समीक्षक प्रा.डा. भीम खतिवडाले कवितामा नारा हाबी हुँदै गएको सन्दर्भ कोट्याउँदै अहिले कविताको कलात्मक मूल्य प्रतिदिन ह्रास हुँदै गएकोमा चिन्ता व्यक्त गरे । प्रा.डा.गोपाल भण्डारी, प्रा.नारायण कट्टेल तथा सहप्रा. हरिप्रसाद दाहालले कविशिरोमणिको व्यक्तित्व तथा योगदान माथि चर्चा गरेका थिए ।

डा. भवानीशङ्कर भट्टराईबाट धन्यवाद ज्ञापन गरिएको कार्यक्रम डा. महानन्द तिम्सिना र शोभा भण्डारीले सञ्चालन गरेका थिए ।

lekh nath  (1) lekh nath  (2)