झापाः गजलकार भोजराज घिमिरेको छन्द र बहरबद्ध गजलकृति ‘निर्बन्ध आकाश’माथि अन्तरक्रिया गरिएको छ ।

झापाको दमकमा आयोजित कार्यक्रममा युवा गजलकार सुरेश सुवेदीले घिमिरेका गजलमा लय पक्ष अत्यन्त सशक्त भएको तर शिल्प पक्षमा परिष्कार गर्नुपर्ने धारणा राखे । सो कृति प्रयोगका रूपमा पनि लेखिएको बताउँदै सुवेदीले अवकाशपछिको जीवनमा छन्द र बहरजस्तो जटिल विषयमा अध्ययन गरेर सिर्जना गर्नु साँच्चै अनौठो भएको धारणा राखे ।

अर्का टिप्पणीकर्ता कवि, समालोचक शिव ‘प्रणत’ले घिमिरेले आफूलाई गजलमै समर्पित गरिरहेका र गजलप्रतिको उनको लगाव लोभलाग्दो रहेको बताए । गजल आफैँमा जटिल विधा भएको र त्यसमाथि छन्द र बहरमा लेख्न कठिन हुने बताए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष कवि तथा समालोचक घनेन्द्र ओझाले सो कृति पुराना सर्जकका लागि पाठ र नयाँ सर्जकलाई चुनौती भएको बताए । साधना र अध्ययन स्रष्टाका लागि अनिवार्य र अपरिहार्य विषय भएको बताए ।

प्रमुख अतिथि डा. भीम खतिवडाले घिमिरेले लामो प्रशासनिक जीवन, सामाजिक तथा पारिवारिक जीवनमा भोगेका, देखेका अनुभव र अनुभूतिलाई काव्यात्मक रूपले आफ्ना गजलमा उतारेको बताए ।

दमक क्याम्पस साहित्यिक विद्यार्थी मञ्चको आयोजनामा भएको कार्यक्रम घनश्याम पथिकले संयोजन गरेका थिए । सो कार्यक्रममा रोहित पराई, सुमन राई, रश्मि असफललगायतले गजल वाचन गरेका थिए ।

bhojraj ghimire nirbandha  (1)