विराटनगरः साढे २ दशकभन्दा लामो समयदेखि नेपाली साहित्य लेखनमा सक्रिय कवि निर्मला कोइरालाको ‘घाम समातेर’ कविता सङ्ग्रह विमोचन गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कोइरालाको ‘घाम समातेर’ कविता सङ्ग्रह विमोचन गरिएको हो ।

कार्यक्रममा अग्रज कवि विश्वविमोहन श्रेष्ठ, प्राज्ञ दधिराज सुवेदी, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदीलगायतले संयुक्त रूपमा कविता सङ्ग्रहको विमोचन गरेका थिए ।

समसामयिक विषयमा सरल भाषाशैलीमा लेख्न रुचाउने कोइरालाको विमोचित कविता सङ्ग्रहमा ३७ वटा कविता समावेश छन् । सङ्ग्रहको समीक्षा समालोचक भूषण ढुङ्गेलले गरेका थिए ।

ढुङ्गेलले वर्तमान नेपाली समाजले भोग्नुपरेका पीडालाई कोइरालाले कवितामार्फत् सशक्त रूपमा उठाएको बताए । कवि राधिका गुरागाईं र भरत गुरागाईंले सङ्ग्रहभित्रका कविता वाचन गरेर सुनाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अग्रज कवि विश्वविमोहन श्रेष्ठ, प्राज्ञ दधिराज सुवेदी, शिक्षक सङ्घका नेता ईश्वर निरौला, आयोजक संस्थाका अध्यक्ष विवश पोखरेल, महासचिव गोकुल अधिकारी, सचिव मीनकुमार नवोदितलगायतले विमोचित कविता सङ्ग्रहका विषयमा चर्चा गरेका थिए ।