झापाः रोटरी क्लब अफ काँकरभिट्टाको मङ्गलबार सम्पन्न साधारणसभाले सन् २०१९ देखि २०२२ सम्मका अध्यक्षसहित पदाधिकारी चयन गरेको छ ।
मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यको प्रमुख आतिथ्यतामा झापाको कनकाईस्थित पर्यटकीय स्थल जामुनखाडी सिमसार क्षेत्रमा सम्पन्न साधारणसभाले सन २०१९–२०२० का लागि अध्यक्षमा मोहन निरौलालाई चयन गरेको छ । साधारणसभाले इलिक्टेट अध्यक्षमा कृष्णकान्त खनिया र रोहितकुमार बुढाथोकीलाई सर्वसम्मत चयन गरेको पूर्व अध्यक्ष दिलीप सुवेदीले बताए । उनका अनुसार क्लबको सचिवमा उदयकुमार श्रेष्ठ चयन भएका छन् ।
सन् २०१८ का अध्यक्ष अशोक श्रेष्ठको सभापतित्वमा भएको साधारणसभामा बोल्दै प्रमुख अतिथि नगरप्रमुख आचार्यले क्लबले सामाजिकलगायत अन्य क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरे । रोटरी क्लब सामाजिक क्षेत्रमा गतिविधि गर्ने संस्था भएकाले आगामी दिनमा समेत यो शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा सक्रिय रहने कुरामा आफू विश्वस्त रहेको नगरप्रमुख आचार्यले विश्वास व्यक्त गरे ।
कार्यक्रममा पूर्व अध्यक्ष गोपाल तामाङ, दिलीप सुवेदी कार्यक्रम संयोजक विजया तामाङलगायतले क्लबले विगत वर्तमान र भविष्यमा सामाजिक उत्तरदायित्व बहन गर्ने विचार राखेका थिए ।
साधारणसभाकै अवसरमा आयोजित विभिन्न प्रतियोगितात्मक खेलकुद प्रतियोगिता भएका थिए । हाँडी फुटाउने खेलमा मेदनीप्रसाद खरेल र म्युजिकल चेयरमा चन्दा बुढाथोकी प्रथम भएका थिए । उनीहरूलाई प्रमुख अतिथि आचार्यसहित पूर्व र नवनिर्वाचित अध्यक्षले पुरस्कार वितरण गरेका थिए ।