काठमाडौंः नेकपा एकीकृत समाजवादीले वर्तमान गठबन्धन दलहरूसँगको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने निष्कर्ष निकालेको छ । समाजवादीको आज बसेको बैठकले निर्वाचन नतिजापछिको राजनीतिक घटनाक्रमको विकास सँगसँगै आगामी रणनीति गर्ने निर्णय गरेको बैठकपछि अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।

उनले भने, ‘राष्ट्रिय राजनीतिको आगामी बाटो बारेमा गम्भीर चिन्तन मनन र्गयौँ । देश कतै दक्षिणपन्थी दिशातर्फ जान लागेको त होइन भन्ने कुरालाई गम्भीरताका साथ लिँदै त्यसबाट सतर्क हुनुपर्ने आवश्यकता महसुस र्गयौँ ।’ बैठकमा देशभरिबाट पार्टीले पाएको मतपरिणामका बारेमा छलफल भएको जानकारी दिँदै अध्यक्ष नेपालले इलाम र उदयपुरको नतिजालाई गम्भीरतापूर्वक लिएको बताए ।

‘देशभरबाट निर्वाचनको सूचना आउन बाँकी रहेको आएपछि विस्तृत र गम्भीर समीक्षा गर्ने छौँ’, उनले भने । बैठकले पार्टीका तर्फबाट विजयी उम्मेदवारलाई बधाई तथा निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र आम मतदातालाई धन्यवाद दिएको छ । अध्यक्ष नेपालले अहिलेकै अवस्थामा वामपन्थी दलबाट सरकार बन्ने सम्भावना आफूले नदेखेको बताए ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले स्थायी कमिटी, केन्द्रीय कमिटी र जिल्ला भेलामार्फत निर्वाचनको समीक्षा गरिने बताए । निर्वाचनबाट प्राप्त परिणाम सन्तोषजनक नभए पनि गठबन्धनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्ने निष्कर्षमा पुगिएको उनको भनाइ छ ।

‘निर्वाचनमा जेजस्तो मत परिणाम प्राप्त र्गयौँ । त्यो हामीले सोचेजस्तो छैन’, उनले भने, ‘तर सोचेजस्तो छैन भन्दैमा, गठबन्धनसँगै लागेर प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्छ र गठबन्धनको भावनाअनुसार आगामी दिनमा सहकार्य गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौँ ।’ सरकारमा सहभागी हुने विषयमा पार्टीभित्र कुनै छलफल नभएको उनले जानकारी दिए । निर्वाचनको अन्तिम नतिजा आइसकेको छैन । केही स्थानमा निर्वाचन हुनै बाँकी छ । केही स्थानमा विवाद छन् ।

‘समानुपातिक मत परिणामबाट राजनीतिक दलहरुले प्राप्त गर्ने सिट सङ्ख्याका आधारमा संसद्को समीकरणमा तलमाथि हुनसक्छ । सरकार गठनको अवस्थाका बारेमा आज हामीले छलफल गरेनौँ’, उनले भने, ‘संसद्को गणित निश्चित हुनुर्पयो । सरकार कस्तो बन्छ भन्ने कुरा पहिले टुङ्गिनु पर्यो । सरकार बन्दा त्यसका नीति कार्यक्रम पाँच वर्षसम्म जान सक्ने सम्भावनाका बारेमा हेरेर मात्रै अन्य विषयमा छलफल गर्न सकिन्छ ।’

सरकारमा सहभागी हुने आधार र वातावरण तयार भएपछि मात्रै यस विषयमा छलफल हुने उनको भनाइ छ । ‘सरकारमा सहभागी हुने विषयमा आज कुनै निर्णय भएन’, प्रवक्ता जगन्नाथ खतिवडाले भने । रासस