जनकपुरधामः  मधेश प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अब चार स्थानको नतिजा आउन बाँकी छ । अहिलेसम्म २८ स्थानको नतिजा सार्वजनिक भएको छ । नतिजा आउन बाँकी चार स्थानमध्ये एक स्थानमा नेपाली कांग्रेस, दुई स्थानमा माओवादी केन्द्र र एक स्थानमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अगाडि छन् ।

निर्वाचन आयोगले अहिलेसम्म सार्वजनिक गरेको परिणामअनुसार नेकपा (एमाले) र नेपाली कांग्रेसले सात÷सात स्थानमा जितेको छ । जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पाँच क्षेत्रमा निर्वाचित भएका छन् । अहिलेसम्म कुनै पनि स्थानमा जित निकाल्न नसकेको माओवादी केन्द्रका उम्मेदवार दुई स्थानमा अगाडि छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तीन, स्वतन्त्रले तीन, एकीकृत समाजवादीले दुई र जनमत पार्टीले एक स्थानमा जित निकालेको छ ।

एमालेका सात उम्मेदवार क्रमशः सिरहा क्षेत्र नं १ मा रामसंकर यादव, धनुषा ३ मा जुली महतो (महासेठ), सर्लाही ३ मा हरिप्रसाद उप्रेती, बारा १ मा अच्युतप्रसाद मैनाली, पर्सा ३ मा राजकुमार गुप्ता, सिरहा निर्वाचन क्षेत्र नं ३ मा लिलानाथ श्रेष्ठ र बारा निर्वाचन क्षेत्र नं ३ मा ज्वालाकुमारी साह निर्वाचित भएका हुन् ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार विभिन्न जिल्लाका सात स्थानमा निर्वाचित भएका छन् भने परिणाम आउन बाँकी एक स्थानमा अगाडि छ । अहिलेसम्म निर्वाचित हुने कांग्रेस उम्मेदवारमा सप्तरी क्षेत्र नं ३ मा दिनेशकुमार यादव, धनुषा क्षेत्र नं २ मा रामकृष्ण यादव, रौतहट ४ मा देवप्रसाद तिमलसेना, पर्सा २ मा अजयकुमार चौरसिया, पर्सा ४ मा रमेश रिजाल, सप्तरी ४ मा तेजुलाल चौधरी र महोत्तरी ४ मा महेन्द्रकुमार राय रहेका छन् । धनुषा ४ मा सहमहामन्त्री महेन्द्र यादव अगाडि छन् ।

जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार पाँच स्थानमा निर्वाचित भएका छन् भने एक स्थानमा अगाडि छन् । जसपाबाट सप्तरी १ मा नबलकिशोर साह, सिरहा ४ मा वीरेन्द्रप्रसाद महतो, पर्सा १ मा प्रदीप यादव, बारा–२ मा रामसहायप्रसाद यादव र सिरहा–२ मा राजकिशोर यादव निर्वाचित भएका हुन् । धनुषा निर्वाचन क्षेत्र नं १ मा जसपा उम्मेदवार दीपक कार्कीले अग्रता कायम गरे । यहाँ माओवादी केन्द्रका उपमहासचिव मातृका यादव सुरुदेखि नै पछाडि छन् ।

माओवादी केन्द्रका कुनै पनि उम्मेदवारले अहिलेसम्म जित निकालेका छैनन् तर दुई क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार अगाडि छन् । सर्लाही निर्वाचन क्षेत्र नं २ मा महेन्द्र राय यादव र महोत्तरी निर्वाचन क्षेत्र नं १ मा गिरिराजमणि पोखरेल अगाडि छन् । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का उम्मेदवार तीन क्षेत्रमा निर्वाचित हुनुभएको छ । महोत्तरी–२ मा शरदसिंह भण्डारी, सर्लाही–१ मा रामप्रकाश चौधरी र महोत्तरी निर्वाचन क्षेत्र नं ३ मा पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका हुन् ।

त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का दुई उम्मेदवार निर्वाचित भए  । सो पार्टीका अध्यक्ष माधवकुमार नेपाल रौतहट निर्वाचन क्षेत्र नं १ र कृष्णकुमार श्रेष्ठ बारा निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएका हुन्  । जनमत पार्टीले पनि एक स्थानमा जित निकालेको छ । पार्टी अध्यक्ष डा सिके राउत सप्तरी निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका छन् । त्यसैगरी तीन क्षेत्रमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्  । निर्वाचित हुनेमा सर्लाही निर्वाचन क्षेत्र नं ४ मा अमरेशकुमार सिंह, रौतहट निर्वाचन क्षेत्र नं २ मा किरण कुमार साह र रौतहट निर्वाचन क्षेत्र नं ३ मा प्रभु साह रहेका छन्  ।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार मधेश प्रदेशका आठ जिल्लामा प्रतिनिधिसभातर्फको ३२ सिटका लागि विभिन्न दलका दुई सय ९३ र स्वतन्त्र दुई ९७ गरी पाँच सय ९० उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रासस