काठमाडौँः आमनिर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी रहँदा केही चर्चित उम्मेदवारले हारको सामना गर्नुपरेको छ । काठमाडौँको तीनवटा निर्वाचन क्षेत्रको परिणाम आउँदा रवीन्द्र मिश्र, डा. राजन भट्टराई, रमेश खरेल, मिलन पाण्डे र पुकार बमले हार बेहोरेका छन्। मिश्र, भट्टराई र पाण्डे आमनिर्वाचन २०७४ मा समेत चर्चित थिए ।  खरेल भने आफैँ दल दर्ता गरी पहिलो पटक निर्वाचनमा स्पर्धा थिए । 

निर्वाचन आयोगका अनुसार काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजित भए ।  वरिष्ठ उपाध्यक्ष पोखरेल यसअघि २०७४ को आमनिर्वाचनमा काठमाडौँ–५ बाटै निर्वाचित भएका थिए ।  सो निर्वाचनमा उनले नेपाली कांग्रेसका प्रकाशशरण महतलाई पराजित गरेका थिए । 

काठमाडौँ–४ मा नेकपा (एमाले)का राजन भट्टराईले १३ हजार ८५५ मत ल्याए  । उनलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २१ हजार ३०२ मत ल्याएर पराजित गरे ।  आमनिर्वाचन २०७४ को अपेक्षा भट्टराईले करिब चार हजारभन्दा बढी मत गुमाए ।  उनले यसअघिको निर्वाचनमा १८ हजार १४० मत पाएका थिए ।  केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भट्टराई परराष्ट्र सल्लाहकारको भूमिकामा लामो समय रहे । 

काठमाडौँ–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका रवीन्द्र मिश्र लगातार दोस्रो पटक नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहसँग पराजित भए ।  उनले आमनिर्वाचन २०७४ मा विवेकशील साझा पार्टीबाट उम्मेदवारी दिएका थिए ।  उक्त निर्वाचनमा ८१८ मतले पराजित भएका मिश्रले यस पटक मात्र १२५ मतले हारको सामना गर्नुपरेको हो । 

विवेकशील साझा पार्टीले स्थानीय निर्वाचन २०७९ मा अपेक्षाकृत परिणाम दिन नसकेपछि मिश्रले दलसँगै विचारसमेत परिवर्तन गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध  भए । उनलाई काठमाडौँ–१ का मतदाताले जनप्रतिनिधिका रूपमा पुनः अस्वीकार गरेका हुन् । 

सोही क्षेत्रबाट नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेलसमेत उम्मेदवार थिए । उनले दुई हजार १३० मत प्राप्त गरे । 

अर्का चर्चित युवा मिलन पाण्डेले समेत लगातार दोस्रो पटक हार बेहोर्नु पर्यो ।  विवेकशील साझाका पाण्डे काठमाडौँ–९ बाट उम्मेदवार भए । उनलाई नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठले पराजित गरे । 

काठमाडौँ–९ बाट २०७४ को निर्वाचनमा तेस्रो सर्वाधिक मत पाएका पाण्डेले आमनिर्वाचन २०७९ मा पाँचौँ स्थानमा पुगे । उनले दुई हजार ३२७ मत पाए । अघिल्लो निर्वाचनमा उनले चार हजार ९४६ मत पाएका थिए । 

काठमाडौँ–९ मा ११ हजार ९५६ मत ल्याएर निर्वाचित श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई पराजित भए ।  पोखरेलले दस हजार ९६१ मत ल्याए ।  निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहँदै नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टीका थुप्रै चर्चित नेता मतगणनामा पछाडि परेका छन् ।