काभ्रेपलाञ्चोकः  काभ्रेपलाञ्चोक प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोकुल बास्कोटा एक हजार ७६ मतले पछि परेका छन्  । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म छ हजार ४१९ मत गणना भए मध्ये नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईँको तीन हजार २७२, नेकपा एमालेका गोकुलप्रसाद बास्कोटाको दुई हजार १९६ मत आएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का दिनेश हुमागाईँले ४९२ मत ल्याएका छन् ।

काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर २ को मतगणना कार्य अनुसार हालसम्म बेथानचोक गाउँपालिकाको चार वटा वडाको मतगणना कार्य सकिएको छ । हालसम्म बेथानचोक गाउँपालिका– १ को ८८३ मत, वडा नम्बर २ को एक हजार ७२८ मत, वडा नम्बर ३ को एक हजार ५२१ मत र वडा नम्बर ४ को दुई हजार २८७ मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चार वटा वडाको मत गणना हुँदा हालसम्म १८२ मत बदर भएको छ । 

यसैबीच प्रतिनिधि सभा क्षेत्र नम्बर १ को मतगणना गए राति ११ बजेबाट हुने भनिएपनि हालसम्म गणना सुरु हुन सकेको छैन । प्रतिनिधि सभा १ को मतगणना कार्य मङ्गलबार बिहान साढे सात बजे सुरु गरिने प्रतिनिधि सभा १ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाको दुवै क्षेत्रको प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गतका दुवै क्षेत्रको मत गणना गरिनेछ । मतगणना तीन स्थानबाट हुनेछ ।