काठमाडौंः   सङ्घीय राजधानी काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रमध्ये १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी हुनुभएको छ । अन्य क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना जारी छ ।  

सोमबार दिउँसोदेखि सुरु भएको काठमाडौँ क्षेत्र नं १ को मतगणना टुङ्गिएको छ भने यहाँबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका हुन् ।  सिंह सात हजार एक सय ४० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

काठमाडौँका बाँकी नौ वटा निर्वाचन क्षेत्रमा भने मतगणना अहिले पनि जारी छ ।  क्षेत्र न २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम अग्रस्थानमा छिन् ।  उनले दुई हजार आठ सय ९१ मत प्राप्त गरेकी छन्  भने उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का ओनसरी घर्तीले एक हजार दुई सय ८८ मत प्राप्त गरिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तादेवी पोखरेल एक हजार एक सय १९ मतसहित तेस्रो स्थानमा छिन् । एमालेका मणिराम फुयालले भने हालसम्म एक हजार ९८ मत प्राप्त गरेका छन् । क्षेत्र नं ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे चार हजार पाँच सय मतसहित अग्रस्थानमा छन् । उनलाई एमालेका कृष्णबहादुर राईले तीन हजार दुई सय १३ मत सहित पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका रास्वपाका दुर्गाविक्रम थापा क्षेत्रीले एक हजार ६१७ मत प्राप्त गरेका छन् । 

काठमाडौं क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापाले ११ हजार नौ सय ८८ मत पाउँदा दोस्रो स्थानमा रहेका एमालेका डा.राजन भट्टराईले नौ हजार दुई सय ७७ मत ल्याएका छन् । राप्रपाका ठाकुरमोहन श्रेष्ठको १ हजार चार सय ३९ मत छ । 

क्षेत्र नं ५ मा कांग्रेसका प्रदीप पौडेल दुई हजार पाँच सय ९१ मतसहित अग्रस्थानमा छन् भने नेकपा (एमाले)का उम्मेदवार ईश्वर पोखरेलले एक हजार ६९८ मत प्राप्त गरेका छन् । 

काठमाडौँ क्षेत्र नं ६ मा रास्वपाका शिशिर खनालले दुई हजार ७९ मतसहित अग्रस्थानमा छन् ।  कांग्रेसका भीमसेनदास प्रधानले १ हजार ४१२ मत प्राप्त गरी दोस्रो छन् ।  एमालेका उम्मेदवार सर्वेन्द्र खनाल एक हजार ४१ मतसहित तेस्रो स्थानमा छन् ।  

क्षेत्र नं ७ मा एमालेका श्यामकुमार घिमिरे प्रतिस्पर्धीलाई पछाडि पार्दै एक हजार तीन सय ५८ मत प्राप्त गरेका छन् ।  रास्वपाका उम्मेदवार गणेश पराजुलीले एक हजार ६५ मत प्राप्त गरी दोस्रो स्थानमा छन् ।  माओवादी केन्द्रका अस्मिता सिंह (मानुषी)यमी भट्टराईले नौ सय ६३ मत प्राप्त गरेका छन् । 

क्षेत्र नं ८ मा भने रास्वपाका विराजभक्त श्रेष्ठले तीन हजार ७७० मत प्राप्त गर्दै अग्रस्थानमा छन् ।  यस्तै हाम्रो नेपाल पार्टीका उम्मेदवार सुमन सायमीले तीन हजार तीन सय १० मत प्राप्त गरेका छन् । एमालेका शिवसुन्दर राजवैद्यले एक हजार पाँच सय ८७ मत प्राप्त गरेका छन् । 

यसैगरी क्षेत्र नं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठले पाँच हजार ७३४ मत प्राप्त गर्दै अग्रस्थानमा छन् ।  यस क्षेत्रमा रास्वपाका टेकबहादुर पोखरेलले पाँच हजार १४५ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट माओवादी केन्द्रका कल्पना धमलाले तीन हजार एक सय ३७ मत प्राप्त गरेकी छन् । 

त्यस्तै, क्षेत्र नं १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र कुमार केसीले दुई हजार चार सय १८ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका छन् ।  रास्वपाका उम्मेदवार प्रदीप विष्टले एक हजार आठ सय ७८ मत ल्याएका छन् । एमालेका हिमेश केसीले एक हजार तीन सय मत प्राप्त गरेका छन् । रासस