इटहरीः सल्यानको कपुरकोट गाउँपालिका –३ वनस्पती नजिकै जीप दुर्घटनामा एउटै घर सन्तानका ६ जना सहित ८ जनाको मृत्यु भएको छ ।

कपुरकोट गाउँपालिका–६ सिनबाङ निबासी धर्म वली, बसन्त वली, कुमारी वली, टोपबहादुर वली, ललित वली, खुमलाल वली, चालक जीत बहादुर बोहरा, र सुरेश खत्री रहेको प्रहरीले जनाएको छ । 

सोही घटनामा परेर घाइेत भएका सोही ठाउँका तिलक वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

बाँकेको ढकेरीमा बिहेको कार्यक्रम सकेर सल्यानको कपुरकोट गाउँपालिका–६ फर्किदै गरेको रा १ ज ५६३ नम्बरको ९डबल क्याप० जीप दुर्घटनामा परेको थियो । उक्त जीपमा ९ जना सवार रहेको बताइएको छ ।

मध्यराति करिव २ बजेतिर दुर्घटना हुँदा प्रहरीले समयमै थाहा नपाएर उद्धार र उपचारमा समस्या भइ मृतकको संख्या बढेको बताइएको छ ।

स्थानीयले दुर्घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय कपुरकोटबाट बिहान साढे ४ बजेतिर प्रहरी घटनास्थल पुगेको थियो ।

घुम्ती र चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । जीप सडकदेखि करिब एक सय पचास मिटर तल खसेको छ ।