काठमाडौँः नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संवैधानिक दायित्व पुरा नगर्ने राष्ट्रपति पदमा बस्न नमिल्ने बताएका छन् । 

बुधबार नेकपा (एकीकृत समाजवादी )को केन्द्रीय कार्यालय काठमाडौँमा आयोजिक  नेपाल तमु संघ (समाजवादी)को प्रथम राष्ट्रिय भेला उद्घाटन गर्दै खनालले संवैधानिक राष्ट्रपतिले संसद् र मन्त्रीपरिषद्ले गर्ने निर्णयलाई प्रमाणीकरण गर्न बाध्य हुने व्यवस्था रहेको भन्दै संवैधानिक दायित्व पुरा नगर्ने राष्ट्रपति पदमा बस्न नमिल्ने बताए ।

नागरिकता सम्बन्धी व्यवस्थामा व्यक्तिले भिन्न मत राख्न सक्ने भए पनि राष्ट्रपतिले भिन्न मत राख्न नमिल्ने भन्दै उनले प्रमाणीकरण गर्नुपर्ने वा राजीनामा दिनुपर्ने अवस्था रहेको बताए ।

आफ्नै देशको राष्ट्रपतिविरुद्ध असंवैधानिक काम गरेपछि बोल्न बाध्य भएको भन्दै नेता खनालले यसअघि पनि केपी ओलीको गुटले गरेको संसद् विघटन गर्ने असंवैधानिक कामलाई समेत राष्ट्रपतिले साथ दिएको स्मरण गर्दै उनले राष्ट्रपति भण्डारी र केपी ओलीको निरंकुश शासन लाद्न यसअघि संसद् भङ्ग गर्ने प्रयास गरिएको टिप्पणी पनि गरे ।