काठमाडौंः सत्ता गठबन्धन दलले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेर जनताले निर्वाचित गरेको संघीय सांसदको अपमान भएको ठहर गरेको छ ।

बुधवार बसेको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै सत्ता साझेदार दलहरूले संसद्को दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पारित गर्न अस्वीकार गरेपछि त्यस्तो  धारणा सार्वजनिक गरेका हुन् ।

press_release_lgUKgbf3nq1663809985

राष्ट्रपतिको पछिल्लो कदम गैरसंवैधानिक रहेको जिकिर गर्दै राष्ट्रपतिको कदमबाट संविधानसभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौम सत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य र मान्यतामा गम्भीर प्रहार भएको गठबन्धन बैठकले निष्कर्ष निकालेको छ ।

यसले नागरिकता प्राप्त गरिसकेका नेपाली आमा बुबाका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित हुने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल , नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,  र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।