कास्कीः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले विद्रोह गरेर नेपालमा कम्युनिष्ट आन्दोलन जोगाएको बताएका छन् ।

एकीकृत समाजवादी कास्कीले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने  ‘जनताले ठुलो त्याग, तपस्या र बलिदानीबाट बनाएको संघीय गणतन्त्रात्मक संविधान माथि ओली नेतृत्वको एमालेले पटक पटक हमला गर्यो । एउटा निर्वाचित कम्युनिष्ट पार्टीको प्रधानमन्त्रीले संवैधानिक सर्वोच्चता माथि आक्रमण गर्ने कुराले नेपालमा कम्युनिष्ट आन्दोलन माथि ठुलो अविस्वास पैदा भयो ।

जनतामा कम्युनिष्टहरुले संविधान मान्दैनन् भन्ने मनोविज्ञान तयार हुन थाल्यो । अर्थात् एमालेकै कारण कम्युनिष्ट आन्दोलन जोगिने अवस्था नभएको उनले बताए  । तसर्थ कुनै पनि मुल्यमा कम्युनिष्ट आन्दोलन हामीले जोगाउनै पर्ने भयो । यसकारण एकीकृत समाजवादी विकल्प बन्न पुगेको उनको दावी थियो ।  दलहरुमा मुलुक चलाउने राजनीतिक संस्कार नभएको भन्दै मन्त्री चौधरीले कांग्रेसको बहुमत हुँदा होस् या कम्युनिष्टको दुई तिहाइ हुँदा होस्, सरकार चल्न नसकेको बताए ।

मुलुकमा संकट पर्दा सधै पार्टीहरु एक भएको बताउँदै मन्त्री चौधरीले भने, ‘२०१७ साल मा पनि मिल्यौँ । ०४६ सालमा पनि मिल्यौँ । ०६२/६३ सालमा पनि मिल्यौँ । र अहिले पनि मिलिरहेका छौँ । मिलेर काम गर्ने संस्कार आज मुलुकले खोजिरहेको छ । सबै मिल्दा मात्र संविधान विरोधी एमालेलाई परास्त गर्न सकिन्छ । एमालेलाई परास्त नगरि संविधान बचाउन सकिदैन ।’

ठुला दलमा राजनीतिक चेतना नभएको र उनीहरुप्रति जनतामा विश्वास पनि नभएकाले मन्त्री चौधरीले अबको विकल्प एकीकृत समाजवादी पार्टी भएको उनले बताए । स्वास्थ्य राज्यमन्त्री हिरा चन्द्र केसीले एकीकृत समाजवादी पार्टी क्रमशः लोकप्रिय बन्दै जाने धारणा राखेका थिए  ।