झापाः यशोदा फुड्स मिस कोच इन्टरनेशनल २०१८ को उपाधि भारत मेघालयकी हेरोलिन कोच सदापले हात पारेकी छिन् ।
१६ जना प्रतिष्पर्धीलाई पछि पार्दै उनले उपाधि पहिरेकी हुन् । ताज जितेसँगै उनले नगद १ लाख रुपैयाँ जितिन् । भारतको उत्तर बङ्गालकी प्रतिमा सिंह फस्ट रनर अप हुँदा सेकेन्ड रनर अपको उपाधि झापाको धुलाबारीकी सोनाली राजवंशीले जितेकी थिइन् ।
फस्ट रनर अप सिंहले ५० हजार र सेकेण्ड रनर अप राजवंशीले २५ हजार नगद, एक–एक वटा मोबाइल, होटल मेनेजमेन्ट अध्ययन गर्ने अवसर र अन्य विभिन्न पुरस्कार हात पारेको आयोजक झापा मिडिया हाउसका सिइओ योगेश राजवंशीले बताए ।
‘तिम्रो लागि तिम्रो करिअर महत्वपूर्ण कि तिम्रो परिवार’ भन्ने निर्णायकको प्रश्नको जवाफ दिँदै हेरोलिनले ताज पहिरेकी हुन् । धुलाबारीस्थित पासाङ ल्हामु स्मृति जेसीज प्रतिष्ठान भवन टाउनहलमा फाइनल चरणको प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा नेपालका झापा, मोरङ, भारतको उत्तर बङ्गाल, मेघालय र आसामका गरी १७ जना युवतीले भाग लिएका थिए ।