काठमाडौंः नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरूले ठोस परिस्थितिमा ठोस निर्णय गर्न  समय र कार्ययोजना व्यवस्थापनलाई ध्यानमा राख्नुपर्नेमा बताएका छन् । 

सो पार्टीको पार्टी स्कुल विभागको प्रशिक्षण समापन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । पार्टीको स्कुल विभागले पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीलाई लक्षित गरी आयोजना गरेको एक हप्ते प्रशिक्षण कार्यक्रम बिहीबार समापन भएको हो । 

पार्टी अध्यक्ष  नेपालले स्कुल विभागले गरेको स्कुल प्रशिक्षण भूगोल र समुदाय तहसम्म पुग्नुपर्नेमा जोड दिए । 

आफूहरू पुष्पलाल कालिन कम्युनिष्ट पार्टीको निरन्तरता भएको भन्दै अव जनतासँग जोडिएर जनमुखी कार्य गर्ने भन्नेमा ध्यान दिनुपर्ने नेपालले बताए  । उनले जनतालाई केन्द्र विन्दुमा राखेर उनीहरूको भरोसा गर्दै उनीहरूकै हितमा लगातार काम गर्न निर्देशन पनि दिए । 

305543801_1058248081722559_309819568081856108_n1663131379

इतिहासको रचयिता आम समुदाय नै भएको भन्दै अध्यक्ष नेपालले ज्ञान चेतना अभिवृद्धिमा पाठ्य संस्कृति जरुरी भएकोले त्यसको लागि यस्ता खालका कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने बताए  । 

पार्टीका उपाध्यक्ष तथा स्कुल विभागका प्रमुख प्रमेश हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ७० जना बढीको सहभागिता भएको पार्टीका केन्द्रीय सदस्य तथा स्कुल विभागका सचिव अशेष घिमिरेले जानकारी दिए  ।