खोटाङः खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र वडा नं २, डिकुवाका स्थानीय आफ्नै नगरपालिकाको कार्यालय जान सुनकोशीमा डुङ्गा तर्न बाध्य छन् ।
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने डिकुवा र बाहुनीडाँडाका अधिकांश भाग दूधकोशी र सुनकोशीले छोएको छ । ती वडाका झापा, खर्क, डुम्रे, कुर्ले, रूपटार, सिरूवानी र चुखानका स्थानीय जोर्तीघाटमा डुङ्गाबाट सुनकोशी पार गर्छन् ।
बलुई र बाइटारका बासिन्दा पनि तराई पुगेर नुनदेखि सुनसम्मका उपभोग्य सामग्री ल्याउने क्रममा ठाउँठाउँमा डुङ्गा प्रयोग गर्न बाध्य छन् ।
जोर्तीघाट सुनकोशी र दूधकोशीको सङ्गमस्थल हो । पुल नभएका कारण बाहुनीडाँडाका बासिन्दा जोर्तीघाटबाट डुङ्गा चढेर सुनकोशी तरेर उदयपुरको कटारी नगरपालिका–१४ लेखानी पुगेर दैनिक आवश्यकीय वस्तु ल्याउने गर्छन् ।
डुङ्गा नचल्ने कतिपय ठाउँमा गाडीको पाङ्ग्राको ट्युब प्रयोग गरेर नदी तर्ने गरिएको स्थानीय बासिन्दा बताउँछन् । ठूल्ढुङ्गाबाट उदयपुर, साँघुरीबाट ओखलढुङ्गाको थाक्ले र मसानेबाट उदयपुरको सोता जान–आउन ट्युबको प्रयोग हुने गरेको छ ।
बाहुनीडाँडा र डिकुवाका नदी किनारका स्थानीयले मोटरसाइकलसमेत डुङ्गाबाटै तारेर चलाउने गरेका छन् । नदी वारपार गर्ने क्रममा डुङ्गा चालकलाई प्रतिव्यक्ति रु ५० का दरले शुल्क तिर्नुपर्छ ।