ओखलढुङ्गाः ओखलढुङ्गाको रावादोलुुकी मैयाँ खड्काले ७१ वर्ष को उमेरमा नागरिकता पाएकी छिन् ।

अपाङ्गताका कारण सदरमुकामसम्म गएर नागरिकता बनाउन नसकेको उनले बताइन् । गाउँमै नागरिकता शिविर सञ्चालन भएपछि नागरिकता पाउँदा खुशी लागेको उनले बताइन् । शिविरमा सांसद यज्ञराज सुनुवार र प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले खड्कालाई नागरिकता प्रदान गरेका थिए ।

उनीजस्तै धेरै अशक्त र ज्येष्ठ नागरिकले गाउँमै सेवा पाउँदा खुशी देखिएका छन् । जिल्ला प्रशासन कार्यालयको संयोजनमा भएको घुम्ती शिविरमा ५ सय २७ जना नागरिकले सेवा लिएको प्रजिअ न्यौपानेले बताइन् ।

शिविरमा १ सय ३४ जनाले नागरिकता लिएका थिए । त्यस्तै, २ सय १६ जनाले स्वास्थ्य जाँच गराएर औषधि लिएका थिए । यस्तै, ७ जना व्यवसायीले व्यवसाय दर्ता गराएका थिए भने मतदाता नामावलीको लागि १ सय २७ जनाले नाम दर्ता गरेको बताइएको छ ।