विराटनगरः नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले आफूहरूले बालुवाटारमा बालुवा पेलेका पेल्यै भएपनि त्यो बालुवाबाट तेल ननिस्केको बताएका छन् । 

शनिबार विराटनगरमा आयोजित पेशागत महासङ्घको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले  ‘उही बालुवाटारमा बालुवा पेलेका पेल्यै छौं, त्यो बालुवाबाट तेल निस्किएको छैन भन्दै आज पनि पेल्नुपर्ने हो कि ? भने ’नेपाली कांग्रेसका कारण सिट बाँडफाँड टुङ्गो नलागेको बताउँदै अध्यक्ष नेपालले कांग्रेसले अस्वभाविक दाबी गरेका कारण गठबन्धनमा सिट बाँडफाँड टुंगो नलागेको  पनि बताए । 

उनले भने ‘हामीले छलफल चलाइरहेका छौ, तर कांग्रेस  , ‘हामीलाई सय सिट चाहियो । उब्रिएको तिमीहरू बाँड भन्छ । हामीले उनीहरूलाई जवाफ दिएका छौं, हैसियत भन्दा बढी माग्ने काम नगर ।’ २०७४ सालमा २३ सिट मात्र जितेको कांग्रेसलाई त्यसको तीन गुना सम्म दिन सक्ने उनले बताए । ‘२३ को तीन गुणा ६९ सिट, त्यसमा एउटा थपिदिँदा ७० सिट’  ,‘हामी ७० भन्दै छौं, उनीहरु सय भन्दैछन्  मिलाउन गाह्रो छ ।’

सहमतिको प्रयास जारी रहेको बताउँदै अध्यक्ष नेपालले सहमति नभए एक्लै उठ्ने आट गर्नुपर्ने बताए ।  समानुपातिक चुनावमा पार्टीको भोट आफैलाई आउने बताउँदै नेपालले भने ‘भएन भनेपनि एक्लै उठ्ने आट गर्नुपर्छ ।’ 

अध्यक्ष  नेपालले आफ्नो पार्टीले समानुपातिकमा २० लाख मत ल्याउने बताए । उनले समानुपातिकबाट २० लाख मत ल्याए २० देखि २५ सिट आउने भन्दै ‘समानुपातिकमा ११० सिट मध्ये २० लाख मत ल्याए २० देखि २५ सिट सुरक्षित हुन्छ,’ नेपालले भने ।