धरानः जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी) स्मृति सन्ध्यामा रचनाकार तथा गीतकार लब प्रधान ‘मित्र’ .लाई सम्मान गरिने भएको छ ।

जनगायक टुहुरेले गाएको ‘बसाइ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ, लाखौँका लागि उजाड छ, यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ गीतका रचनाकार प्रधान ‘मित्र’ लाई सम्मान गरिने भएको हो । बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै टुहुरेको स्मृति दिवसमा भदौ १० गते (शुक्रबार) धरानमा १ लाख नगदसहित ‘जेबी टुहुरे श्रष्टा सम्मान–२०७९’ बाट प्रधानलाई सम्मान गरिने आयोजक जेबी टुहुरे फाउन्डेसनले जनाएको छ ।

वरिष्ठ पत्रकार भवानी बरालको संयोजकत्वमा स्रष्टा छनौट समिति बनेको थियो । छनौट समितिका सदस्यमा गायक शम्भु राई र चेतनारायण राई रहेका थिए । समितिले जनगायक टुहुरेको गायकी रहेको गीत ‘बसाइ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ’ का रचनाकार लब प्रधान ‘मित्र’ लाई छनौट गरेको संयोजक बरालले बताए । उनले गीत सङ्गीतमा रचनाकारको भूमिका महत्वपूर्ण हुने बताए । उनले भने, ‘गीत, सङ्गीत गायकीमा सृजना पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।’

jb

उनले लब प्रधान सशक्त स्रष्टा भएकाले सम्मानका लागि छनौट गरेको बताए । टुहुरले नयाँ लहर हुँदै, ‘संकल्प गीती कार्यक्रम’ समूहमा पनि यसै स्थानबाट टुहुरेले गीती यात्रा प्रारम्भ गरेका थिए । पहिलो पटक वि.सं. २०३३ सालमा धरानको भूतपूर्व सैनिक विश्राम भवन (धरान १०)मा पहिलो पटक ‘आमा दिदी बैनी हो’ कालजयी गीत सार्वजनिक गरेका थिए । संविधानसभा सदस्यसमेत रहेका टुहुरेको गत वर्ष भदौ १० गते काठमाडौँको वयोधा अस्पतालमा निधन भएको थियो ।

वि.सं.२००१ सालमा धरानमा जन्मिएका टुहुरेको प्रथम स्मृति दिवस धरानमै मनाउन लागिएको आयोजक जेबी टुहुरे फाउन्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले जानकारी दिइन् । नेपालको परिवर्तनमा गीतका माध्यमबाट महत्वपूर्ण योगदान गर्ने टुहुरे धरानमा नै जन्मिएका थिए । टुहुरेको सम्झना र योगदानलाई नयाँ पुस्तामाझ पुर्याउने उद्देश्यले ख्यातिप्राप्त गायकहरुले टुहुरेकै गायकी रहेका गीतहरु गाउनेछन् । 

कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ, शम्भु राई, नन्दकृष्ण जोशी, जीवन शर्मा, भीषण मुकारुङ, चेतन सापकोटा, बाबु बोगटी, प्राश्ना शाक्य, हर्सु राई, रुपकचन्द्र डोटेल, सविन लिम्बू, आकाश थापा, साजन राई, दुर्गा परियार, सञ्जय तुम्रोक, प्रशान्त शर्मा, प्रदेश लिम्बू, जितेन्द्र चौधरी, गंगा राई, कृष्णराजा श्रेष्ठ लगायतले टुहुरेले गाएका गीत प्रस्तुत गर्नेछन् । आयोजकका अनुसार सङ्गीतकारसहित केही कलाकार आइसकेका छन् भने केही आउने क्रममा छन् ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, १ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई, सभामुख प्रदीपकुमार भण्डारी, सामाजिक विकास मन्त्री विष्णुमाया तुम्बाहाङ्फे लगायतको उपस्थिति रहने आयोजकले जनाएको छ । कार्यक्रमको सहआयोजक खड्गी समाज धरान र धरान संगीत प्रतिष्ठान रहेका छन् । सम्पूर्ण राजनीतिक दलहरुले पनि सहयोग गर्दै आएका छन् ।