इटहरीः नेकपा (एकीकृत समाजवादी) ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार हुन सात मापदण्ड तय गरेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको ३५ औँ बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभाको उम्मेदवार बन्न पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध भएको, पार्टी निर्माणमा योगदान गरेको, विद्रोहमा सक्रिय भूमिका खेलेको, पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ रहेको, आर्थिक र नैतिक आचरण राम्रो भएको, जनतामा स्थापित र लोकप्रिय रहेको, स्वच्छ छवि र सुशासनको पक्षपाती र कार्यक्षमता र सक्रियता राम्रो भएको हुनुपर्ने मापदण्ड तयार गरेको हो । 

299508923_751202346140760_3957406530951959517_n

समावेशी समानुपातिक सिद्धान्तलाई आत्मसात गर्दै सातवटा मापदण्डभित्र रहेर जिल्ला र प्रदेश निर्वाचन कमिटीलाई उम्मेदवार पठाउन बैठकले निर्देशन दिएको छ । भदौ २० भित्र जिल्ला र प्रदेशबाट पठाइएका नाम सिफारिसमा केन्द्रले छलफल गरेर टुंगो लगाउने पार्टीका महासचिव वेदुराम भुसालले बताएका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताका लागि पार्टी एकता संयोजन समिति बनाउने समेत निर्णय गरेको छ ।

299441777_3254012454858413_4714228806105578701_n

वामहरुको बीचमा एकताको पहल नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बाट सुरु हुने भन्दै दुई वटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयामहरूमा कार्य प्रक्रियालाई अघि बढाउने निर्णय भएको उनले बताए । समितिमा पार्टीका शीर्ष नेताहरू अध्यक्ष माधवकुमार नेपाल, पार्टीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरू रहनुपर्ने सुझाव दिएको भुसालले बताएका छन् ।