इटहरीः निर्वाचन आयोगले गत वैशाख ३० गते भएको स्थानिय निर्वाचनमा आफ्नो खर्च विवरण नबुझाउने उम्मेदवालाई कारबाही गर्ने प्रक्रिया सुरु गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै निर्वाचन आयोगले तोकिएको समयावधिभित्र निर्वाचन खर्च नबुझाउने १ लाख १५ हजार १३१ जना र तोकिएको समयावधिभन्दा ढिलो गरी निर्वाचन खर्चको परिणाम बुझाउने ८ हजार ६५२ जना उम्मेदवारको नामावली निर्वाचन आयोगको वेबसाइटमा हालिएको बताएको छ । निर्वाचनमा उम्मेदवार बनेकाहरुले तोकिएको समयमा के कति कारणले खर्च विवरण नबुझाएको हो भनी ७ दिनभित्र सफाइको  स्पष्टिकरणसहित जिल्ला निर्वाचन कार्यलयमा पेस गर्न आदेश दिएको छ ।

तोकिएको समयमा निर्वाचन खर्चको विवरण पेस गरेका २१ हजार २३० जना उम्मेदवारले भने आफू उम्मेदवार भएको स्थानीय तहको वडा कार्यलयमा सात दिनभित्र खर्च विवरण सार्वजनिक गरी सोको जानकारी जिल्ला निर्वाचन आयोगलाई गराउन भनिएको छ । तोकिएको समयमा निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारको हकमा भने १५ हजार जरिवाना र अटेर गरेकालाई थप १५ हजारका दरले जरिवाना बढ्दै जाने निर्वाचन आयोगको ऐन २०७३ को कानूनी व्यवस्था छ ।